माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने विषय १० फागुनभित्र टुंग्याउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सघाउनेबारे छलफल तीव्र पारेको छ । राष्ट्रपति पद एमालेले लिने हो भने सरकार चलाउन अवरोध आउने भन्दै फरक दलकाे व्यक्ति खोज्ने भन्ने माओवादीको निष्कर्ष छ ।

यसका लागि बुधबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उपमहासचिव जनार्दन शर्माले पनि चाँडै माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गर्न दबाब दिएको स्रोतले पुष्टि गरेको छ ।

स्रोतले भन्यो, ‘एमालेले जुनसुकै बेला अहिलेकाे गठबन्धन अप्ठ्यारोमा पार्न सक्ने र राजनीतिक अस्थिरता ल्याउनसक्ने भएकाले सबै सिनियर नेताले कांग्रेसलाई राष्ट्रपति दिऊँ भनिरहनु भएको छ ।’ फागुन १० गतेभित्रमा यो कुरा टुङ्गाउने छलफल भएको पनि उनले बताए ।

‘अध्यक्ष ज्यू पनि एमालेलाई राष्ट्रपति नदिऊँ भन्ने पक्षमा हुनुहुन्छ । अब पधाधिकारी बैठक बसेर निर्णय गर्ने बाँकी छ,’ उनले भने ।

गत माघ २१ गते पार्टी केन्द्रीय कार्यालय  पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पनि यही कुरा चलेको बैठकमा सहभागी एक  पदाधिकारीले बताए ।

ती नेताले मकालुखबरसँग भने, ‘बैठकमा उपस्थित सबै नेताले सत्ता जोगाउनकै लागि कुनै सम्झौता नगर्न र सहमतिमै राष्ट्रपति निर्वाचन साझा उम्मेदवार बनाउने कुरा भएको छ । सरकार सजग भएर अगाडि बढ्न पनि कांग्रेसलाई राष्ट्रपति दिने भन्ने आवाजहरू उठेको छ ।’

जनादेशको हिसाबले सबैभन्दा ठुलो दल कांग्रेसलाई समेटेर लानुपर्ने देखिएकाे र भोलि कोही सरकारबाट बाहिरिए पनि कांग्रेसलगायतका दलले सहयोग गर्ने भएकाले अहिले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने माओवादीको ठहर छ । उक्त स्थायी कमिटी बैठकमा २८ जना नेताले बोलेको र अधिकांशले कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिको सरकार बनाउन जोड दिएको स्रोतले पुष्टि गरेकाे छ ।

नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने औपचारिक निर्णय नभएको भए पनि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहालबीच सम्बन्ध चिसिनुने प्रचण्डले पनि कांग्रेसलाई नै राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना रहेको एक नेताले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *