विराटनगरले थाल्यो ‘बालिकासँग उपप्रमुख’ अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत बुधबार विराटनगर-११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा-९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराएकी थिइन् । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गरिन् ।

अभिभावक र विद्यालयका शिक्षकहरूबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताइन् । उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए । बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न दिइएको थियो ।

बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिइन् । ‘कतिपय समस्या बाहिर ल्याउन नसक्दा बालिकाहरू डिप्रेसनमा जाने अवस्था पनि रहन्छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले उनीहरूभित्र गुम्सिएका कुरा बाहिर आउँछ र मन हलुका हुन्छ । साथै केही समस्या भए बेलैमा समाधान गर्न सकिन्छ ।’

कार्यक्रममा न्यायिक समितिका सदस्यसमेत रहेका विराटनगर-११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, कानुन शाखाकी प्रमुख कानुन अधिकृत शारदा थपलियाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियानले बालिकाहरूका समस्या पत्ता लगाएर समाधान गर्न सहयोग पुग्ने बताए । अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने थपलियाले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *