चन्द्र भण्डारीलाई मुम्बई लैजाने तयारी, सभापति देउवा पुगे कीर्तिपुर अस्पताल

काठमाडौँ । ग्यास पड्किँदा भएको आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको हो ।

कीर्तिपुर अस्पतालका भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान चिकित्सकहरूले सिफारिस गरेका हुन् । भण्डारीलाई श्री एयरलाइन्सको चार्टड विमानबाट मुम्बई लैजाने तयारी भइरहेको स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

यसैबीच भण्डारी आमाछोराको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन् । उनी केहीबेर अगाडि अस्पताल पुगेका हुन् ।

बिहानैदेखि कांग्रेसका शीर्ष नेताहरू कीर्तिपुर अस्पतालमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेल, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन लगायतका नेताहरू अस्पताल पुगेका हुन् ।

भण्डारीको दुवै हात र दुवै गोडामा गरी ३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ । आमाको जीउका अधिकांश भाग जलेको छ । यसअघि राति नै महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *