विराटनगरको विकासमा दक्षिणी क्षेत्रलाई प्राथमिकता दिँदै महानगर, ५ करोडमा ग्रिनपार्कको काम शुरु

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको आरोप लाग्दै आएकोमा महानगरले ती क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन शुरु गरेको जनाएको छ ।

यसै सन्दर्भमा विराटनगर-१४ मा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रिनपार्कको काम शुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि ग्रिनपार्कको निर्माण सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेकाले सहयोग गर्न मेयर कोइरालाले आग्रह गरे । उनले मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा अगाडी बढाइएको कोइरालाले जानकारी गराए ।

विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका बताएका कोइरालाले तुलनात्मक रूपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको उल्लेख गरे । विकासका कामहरू पछिल्लो समय दक्षिणी क्षेत्रलाई लक्षित गरी अघि बढाइएको बताए ।

रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैँचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालय लगायत हुनेछ । हाल सो ठाउँमा पोखरी रहेको छ । पोखरीलाई यथावत् राखेर अन्य संरचना निर्माण गरिने जनाइएको छ ।

पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किंवदन्ती छ । निर्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । ८ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो ।

महानगर र निर्माण कम्पनी कला विल्र्डसबीच गत माघ १८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्भव भएसम्म तोकिएको समय अगाडि नै निर्माण सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सञ्जयकुमार यादवले बताए । यादवका अनुसार कम्पाउण्डवालबाट काम सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *