अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया विजयी, पदाधिकारीमा को-को ?
काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।
बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए । अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।
महासचिवमा नरेश रोकाया ७३३ मतसहिच विजयी भएका छन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी हुँदा सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई, आशीर्वाद सुवेदी, दीपक धामी र बिनिता काफ्ले विजयी जनाइएको छ ।
नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईकाअनुसार १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुनेछ ।