नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी ११ फागुनदेखि भृकुटीमण्डपमा
काठमाडौँ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी ११ फागुनदेखि भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा यो प्रदर्शनी आयोजना गर्ने भएका हुन् ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीसहित नेपाल हाउजिङ्ग एन्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इक्युपमेन्ट एन्ड कन्सट्रकसन एक्स्पो एकसाथ फागुन ११, १२, १३ र १४ गतेदेखि आयोजना हुने भएको हो ।
आयोजकका अनुसार प्रदर्शनीमा संसार का विभिन्न देश का ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका २०० भन्दाबढी स्टल रहने छन् ।
निर्माण कम्पनी, डिलर, सबडिलर र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी दिन र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
७ वर्ष आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको उल्लेखनीय सहभागिता रहने छ ।
प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेका छन् ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनःनिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।
प्रदर्शनीको मुल उद्देश्यको रुपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिलाई विदेशी संस्थाहरुको सामु देखाउने हो । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।