प्रदेश सभामा किसानका समस्या प्राथमिकतामा, तुलसी सहकारीका अध्यक्षलाई पक्राउ गर्न माग

विराटनगर । प्रदेश सभाका सदस्यहरूले किसानको समस्यालाई राज्यले ध्यान दिन नसकेको बताएका छन् । दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन अन्तरगत नवौँ बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले किसानको समस्यालाई सरकारले सम्बोधन गर्नु पर्ने बताए । सुनसरीका सांसद ईसराईल मन्सुरीले सुनसरीको किसानले रासायनिक मल नपाएको बताए । प्रदेश सरकार मार्फत संघीय सरकारले तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन आग्रह गरे । उनले सुनसरी बहुमुखी क्याम्पस भौतिक संरचनाको अभावका कारण पठन पाठनमा समस्या आएको जानकारी गराए ।

झापाका प्रदेशसभा सदस्य तिलचन्द्र पाठकले ठेकेदारका कारण धेरै योजनाहरू अलपत्र परेको बताए । झापामा मात्र हैन देशभरि नै यस्तै समस्या रहेको उल्लेख गरे । किसानहरू निक्कै समस्यामा रहेको बताएका पाठकले किसानलाई प्रोत्साहित गर्नको लागि किसानको वर्गीकरण गर्ने काममा ध्यान दिन आग्रह गरे ।

सुनसरीका सांसद रामदेव यादव ७० प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि किसानलाई खेती गर्नको लागि राज्यले रासायनिक मल उपलब्ध गराउन नसकेको बताए । सुनसरी, मोरङ र झापामा धान, गहुँ लगायत नगदेबाली उत्पादन हुने क्षेत्रका किसानलाई समेटेर किसानलाई सम्बोधन गर्ने खालको योजना ल्याउनु पर्ने जोड दिए । उनले सुनसरी मोरङ सिचाई योजना भएपनि किसानले सिचाइको सुविधा पाउन नसकेको उल्लेख गरे ।

ताप्लेजुङका सांसद खगेन्द्रसिंह हाङ्गामले कृषि क्षेत्रको उत्पादनसँग जोडिएको अलैँची खेतीको ब्राण्डिङ र प्याकेजसङको काम नेपालमा नै गर्ने व्यवस्था मिलाउन आग्रह गरे । ताप्लेजुङका ६१ वटै वडामा नवदेवालीको रूपमा अलैँची खेती हुँदै आएको उनले जानकारी दिए ।

प्र‘देशबाट ६ अर्ब ३७ करोडको कलैँची निर्यात हुँदा ४ अर्ब बढीको अलैँची प्रदेश १ बाट मात्र निर्यात हुँदै आएको छ, उनले भने, यसको ब्राण्डिङ र प्याकेजसङको काम हुनु पर्छ, हामीले नेपालबाट भारत निर्यात गरेको अलैँचीलाई भारतल भारतमा उत्पादन भएको भनेर तेस्रो मुलुकमा निर्यात गर्ने गरेको ।’ नेपालको कालो सुनलाई देश भित्र नै ब्राण्डिङ र प्याकेजसङको कामलाई प्राथमिकता दिनु पर्ने उनको भनाई छ।

तुलसी सहकारीले ठग्यो
प्रदेश १ सभाको शून्य समयमा बोलेका सांसदहरूले सहकारी संस्थाको नाममा भइरहेको ठगी रोक्न आग्रह गरेका छन् । उदयपुरका सांसद गीतादेवी रेग्मीले सहकारीले उदयपुरमा ठगी धन्दा गरेको सदनलाई जानकारी गराइन् । सहकारीलाई तीन तहबाट नै नियमन र अनुगमन नगर्दा सहकारीबाट नागरिक ठगिने क्रम बढेको उनले सुनाइन् । दमक, विराटनगर र गाईघाटमा शाखा कार्यालय गरेको तुलसी बहुमुखी सहकारी संस्थाले ठुलो सङ्ख्यामा निक्षेप सङ्कलन गरी ठगी धन्दा गरेकोले ठगी गर्ने पात्र र संस्था एउटै भएकोले निपक्ष छानबिन गरी निक्षेप फिर्ता गर्न माग गरिन् । ‘गाईघाटमा रहेको सहकारीमा न्युनतम ६० हजार देखि ४ करोडसम्म जम्मा गरेको पाइएको छ, उनले भनिन्, न्युनआय भएका र व्यापारी तथा ठुला घरानासम्मको रकम जोखिममा रहेको छ ।’ उनले फरार अध्यक्षलाई पक्राउ गर्ने र जनताको धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उदयपुरका प्रदेशसभा अर्का सदस्य हिमाल कार्कीले पनि तुलसी सहकारीको भएको चल अचल सम्पत्ति रोक्का राखी नागरिकको बचत असुल उपर गर्नुपर्ने बताए । ‘तुलसीले सिधासादा जनतालाई प्रलोभनमा पारेर बचत सङ्कलन गरी संचालक फरार रहेका छन्, उनले भने, गरिब किसानले जम्मा गरेको बचत डुब्ने अवस्थामा रहेको छ, डुब्ने अवस्था आउन नदिएकोलागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’ कार्कीले उदयपुर सिमेन्ट उद्योग व्यवस्थापनको कमी कमजोरीको कारण बन्द हुने अवस्थामा पुगेको बताए । उद्योगले नियमित उत्पादन हुन नसकेको, विगत वर्षदेखि कर्मचारीलाई सेवा सुविधा नदिएको, निवृत्त भएका कर्मचारीले पाउने सेवा सुविधा नपाएको उल्लेख गरे ।

मोरङकी प्रदेश सभा सदस्य विद्या चाम्लिङ राईले बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी र नागरिकलाई समस्या भएको जानकारी गराइन् ।

प्रदेश सभा सदस्य गोविन्द गिरीले ५ वर्ष पुरा गरेको संसद् र सरकारले प्रदेशको नामकरण गर्न नसकेको बताए । प्रदेश १ को नामाकरणकोलागि विधि अनुसार अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए । सङ्खुवासभाका प्रदेश सभा सदस्य विदुर लिङ्थेपले शिक्षकको दरबन्दी नहुँदा पाठक पाठन प्रभावकारी हुन नसकेको उल्लेख गरे । उनले पहाडी क्षेत्रमा हुने बाँदर आतङ्कको अन्त्य गर्नु पर्नेमा जोड दिए ।

कोशी अस्पताल सुधार भएन
मोरङका प्रदेश सभा जयप्रकाश चौधरीले कोसी अस्पताल भित्रको ब्यथिती र अस्तव्यस्त अवस्थालाई सुधार गर्नु पर्ने बताए । उनले इमरजेन्सी, जेनेरल र आइसियुमा बेड अभाव, सेवा गुणस्तरीय नभएको सदनलाई जानकारी गराए । ‘बेड, उपकरण, उपचार गराउन आउँदा निजी अस्पतालमा लग्नुस् भनेर रेफर डाक्टरहरूले नै लेखिदिने गरेको अवस्था छ, उनले भने, अहिले बन्दै गरेको भवन अधुरो अवस्थामा काम रोकिएकोले अविलम्ब काम सुचारु गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *