आईसीसी विश्वकप क्रिकेट लिग टू : नेपालले नामिबियालाई ३ विकेटले हरायो
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई हराएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदान कीर्तिपुरमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । भने, दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । भने, नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङ खेले ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।
नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । भने, पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए ।
लो-हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।
नेपालका लागी सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् ।
लामिछाने ५० विकेट पूरा गर्ने समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।
त्यस्तै, करण केसीले १ विकेट लिए ।
आजको जितसँगै नेपालले २७ खेलमा २४ अङ्क जोडेको छ । भने, नेपाल छैटौँ स्थानमा रहेको छ ।
नामिबिया ३३ खेलमा ३७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।