१५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा सुरु, मुख्यमन्त्री यादवले बोके डोला (तस्बिरहरू)

जनकपुरधाम । विश्वकै लामो पदयात्रा मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासँगै परिक्रमा सुरु भएको हो ।

साधुसन्त र मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले भगवानको डोला काँधमा राखेर मन्दिरबाट निकालेका छन् । मुख्यमन्त्री यादवले केही दुरी काँध थापेका थिए । पछि साधुसन्त डोला बोकेर परिक्रमा थाले ।परिक्रममा हजारौँ साधुसन्ध र भक्तजन सहभागी छन् । परिक्रममा सहभागीहरू नेपालको १०७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १३० किलोमिटर पदयात्रा गर्नेछन् ।

१५ दिने पदयात्रामा १५ स्थानमा विश्राम स्थल छन् । विश्राम स्थलमा परिक्रममा सहभागीहरू रात बिताउँछन् । बसेकै ठाउँमा उनीहरू आफैँ खाना पकाएर खाने गर्छन् । अधिकतर सहभागी खाना पकाउने समान र वस्त्रहरू बोकेरै हिँड्छन् ।

परिक्रममाले पहिलो दिन अर्थात् आज राति हनुमान नगरमा विश्राम गर्नेछन् । त्यहाँबाट डोला गिरिजास्थान पुग्छ । त्रेतायुगमा भगवान राम र माता सिताको पहिलो भेट गिरिजास्थानमा भएको मानिन्छ । महोत्तरीको मटिहानी, जलेश्वर, मड़ै, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ महादेव, पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा, बिसौलसहितका स्थानको परिक्रमा गर्दै १५ औँ दिन जनकपुरधाम पुगेपछि समापन हुन्छ ।

यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताको विवाहपश्चात् मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको साधुसन्तहरु बताउँछन् ।

‘मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी सीताको पदचिह्न पछ्याउने यात्रा हो यो’, परिक्रममा सहभागी एक साधुले भने, ‘यो यात्रा सुख शान्तिकै लागि हो । सबैको जय होस् भनेर हामी पनि हरेक वर्ष सहभागी हुन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *