मनाङकी मनुले गरिन् अमेरिकी महादेशको अकान्कागुवाको सफल आरोहण
पोखरा । मनाङकी मनु गुरुङले दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गरेकी छिन् ।
अर्जेन्टिनाकाे मन्डाेजा प्रदेशमा रहेकाे ६९६२ मिटर अग्लो हिमाल चढ्न उनी फेब्रुअरी १ मा त्यसतर्फ गएकी थिइन् । नासों गाउँपालिका ७ की गुरुङ लामो समयदेखि पर्वतीय पर्यटनमा आबद्ध रहेकी छिन् । उनले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट पिक, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा पिक, आइल्याण्ड पिक, फोकाल्दे, लोबुचे पिक र धम्पुस पिकको आरोहण गरिसकेकी थिइन् ।
उनले युरोपको डोलोमिटी पिक र माउन्ट कार्किनेटाको आरोहण गरिसकेकी नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । माउन्टेन वुमन अफ द वर्ल्ड नेटवर्क नामक संस्थाले विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो ।
मनु नेपालको एकमात्र प्रतिनिधि हुन् । आफ्नै गाउँपालिकाको नागरिकले हिमाल चढेर अन्तर्राष्ट्रियस्तरमा देशको नाम राख्न सफल भएकोमा अध्यक्ष गुरुङले बधाई दिए ।
‘हामी सबैका लागि खुसीको खबर हो,’ उनले भने, ‘अझै सफलताको कामना व्यक्त गर्दछु ।’
आरोहणमा गएकामध्ये ९ जनाले मात्रै सफल आरोहण गरेको बताइएको छ ।