महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाले राख्यो प्रचण्डसँग प्रस्ताव
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा निर्वाचित गर्न लोसपाका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुर १२ बुँदे शान्ति सम्झौता भएदेखि नै संघीय गणतन्त्रका पक्षमा वकालत गर्दै आएका र स्वच्छ छविका भएकाले उनलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव उक्त पार्टीका नेताहरुले राखेका छन् ।
यस्ता प्रस्ताव लिएर पार्टीका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, अनिल झालगायतले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव राखेका हुन् ।
भेटमा प्रचण्डले महन्थलाई राष्ट्रपति बनाउनेबारे आफू सकारात्मक रहेको र अन्य ठूला दलका नेतासँग पनि भेटेर कुरा गर्ने आग्रह गरेको लोसपाका नेताहरुले बताएका छन् ।
यसबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर प्रस्ताव राख्ने लोसपाको तयारी छ ।