इँटाभट्टाका खच्चडको संघर्षशील जीवन (फाेटाेसहित)

काठमाडौँ । भाले घोडा र पोथी गधाबाट जन्मिएको घोडाकै एक प्रजातिलाई खच्चड भनिन्छ । नेपालका विभिन्न स्थानमा खच्चडलाई घरपालुवा जनावरको रूपमा पालिन्छ । भारी बोकाउने उद्देश्यले पालिएका खच्चड कहिले नेपाल त कहिले भारत पुग्दछन् । जीवनभर भारी बोक्ने खच्चडको जीवन एकदमै संघर्षशील र व्यस्त रहने गर्दछ ।

भारतीय नागरिक जमिल कजगर एक खच्चड मालिक हुन् । उनका बाबु–बाजेले खच्चड पाल्ने गर्थे । उनले पनि बाबु–बाजेको कामलाई निरन्तरता दिएका हुन् । उनका अनुसार गर्भवती पोथी गधाले १५ महिनापछि बच्चा खच्चड जन्माउँछ । जन्मेको करिब एक–डेढ वर्षपछि नै खच्चड भारी बोक्न थाल्छन् ।

उपत्यकाका कतिपय इँटाभट्टामा इँटा बोकाउन तिनै खच्चडको प्रयोग गरिन्छ । ती खच्चड भारतको लखनउ र तराईका नेपालगञ्जलगायत विभिन्न क्षेत्रबाट उपत्यकामा ल्याइन्छन् । इँटाभट्टामा काम गर्ने खच्चडले काँचो इँटा बोक्ने काम गर्दछन् । खच्चडवालाले आफ्ना खच्चडलाई सुल्तान र झुम्की नामले बोलाएको सुनिन्छ । खच्चडवाला पनि दिनभरि नै खच्चडसँगै दौडधुपमा व्यस्त रहन्छन् ।

अर्का खच्चड चालक रामबहादुर बर्मा खच्चडले ३ सयदेखि ४ सयवटा इँटा बोक्ने बताउँछन् । खच्चडले १२ सय ओटा इँटा बोक्दा बल्ल आफूले १ सय रुपैयाँ कमाउने गरेको उनले बताए । उनीहरू विगत २ वर्षदेखि उपत्यकाका भट्टामा काम गर्न आएका हुन् । त्यसअघि खच्चडलाई भारतमा नै सामान बोकाउने गरेको उनले बताए ।

खच्चडले हिउँदयाम उपत्यकामा बिताए पनि बर्खा भने तराईमा बिताउँछन् । भट्टा सिजन सकिएपछि जेठ, असारमा उनीहरूलाई भारत फर्काइन्छ । भारत लगेर पनि खच्चडलाई गोदामका इँटा बोक्न लगाइन्छ । केही खच्चडलाई पहाडमा शीला(ढुंगा) बोक्न लैजाने खच्चडवालाहरू बताउँछन् ।

खच्चडहरू हिउँद, बर्खा, गृष्म सदैव संघर्ष गरिरहन्छन् । उनीहरूले सबैभन्दा बढी संघर्ष बिरामी भएको समयमा गर्नुपर्दछ । खच्चड मालिक खच्चडलाई अनेक रोग लाग्ने बताउँछन् ।

भन्छन्, ‘यिनको सर्दी भि होजाता हे, पेटमे दर्द भि होजाता है ठंड भि लगजाती है, ये लोग बहुतही विमार हो ता है ।’ मालिक कजगरका अनुसार खच्चडलाई चिसो लाग्ने, पेट दुख्ने जस्ता समस्याले सताइरहन्छ । खच्चडले बिरामी हुँदा नाक झुकाउने गर्छ र त्यसैबाट उनले बिरामी भएको थाहा पाउने बताउँछन् । उनले भने, ‘जब ये बिराम हो तो नाक निचे गिरेगा ।’

उनका अनुसार एउटा खच्चड बिरामी भएपछि सबै खच्चडहरू लहरै बिरामी पर्न थाल्छन् । अनेक किसिमका रोगले गर्दा पूरै उमेर बाँच्ने खच्चड एकदमै कम हुने उनको भनाइ छ । उनले बिरामी खच्चडलाई जाँच्न पशु डाक्टरलाई बोलाउने गरेको बताए ।

घरपालुवा खच्चडलाई चना, भुस, पराल र पानी खुवाइन्छ । खच्चड पालक भन्छन्, ‘चना खाता हे । भुस खाता हे । बरान खाता हे ।’

खच्चडवालाले खच्चडलाई इँटाभट्टामा ६ दिनसम्म इँटा बोकाउँछन् । ७ औँ दिन चउरमा चराउन लान्छन् र आराम गराउँछन् । आराम गर्न पाउँदा खच्चड खुसीले लडिबुडी गर्न थाल्छन् । खच्चड मालिकले खच्चडलाई काँचो इँटाको पर्खाल लगाएर तबेला बनाइदिएका छन् । यही तबेलामा खच्चडले घामपानीबाट आफूलाई बचाउने गर्छन् ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *