प्रदेश १ का सांसदले उठाए बालविवाहदेखि ग्यास सिलण्डर विस्फाेटसम्मका समस्या
विराटनगर । प्रदेश सभाका सांसदहरूले महिला र बालबालिकाको विषयलाई सदनमा उठाएका छन् । अहिले पनि सानै उमेरमा हुने विवाह नरोकिएको बताएका हुन् । कानुन एकातिर व्यवहार अर्कैतिर हुँदा तालमेल नमिलेको बताए । प्रदेशसभा सदस्य कमला दर्नालले बाल विवाह बढ्दो अवस्थामा रहेको बताइन् ।
‘कानुन एकातिर व्यवहार अर्कैतिर रहेको छ, उनले भनिन्, तेह्रथुममा मात्र २० जना भन्दा बढी किशोरीले १४ वर्षदेखि १८ वर्षसम्ममा विवाह गरिसकेका छन् ।’ सानै उमेरमा विवाह गरेर जाने उनीहरू घरेलु हिंसामा समेत पर्ने गरेको बताइन् । बाल विवाह रोक्नका लागि प्रदेश सरकारले नीति बजेट तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरिन् ।
नेपाली कांग्रेसकी सांसद शोभा चेम्जोङले निजामती सेवा ऐनले महिलाको आरक्षणको विषयलाई हटाएको बताइन् । उनले महिलालाई अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेकी छिन् । उनले समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि परिवर्तन हुन नसकेकोले एकल महिलालाई जीवन चलाउने सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।
‘हाम्रो संरचनाले महिलालाई पछाडि परेको कारण राज्यको सबै निकायमा समानुपातिक समावेशीको विशेष व्यवस्था गरेको छ, उनले भनिन्, संविधानले महिलालाई हरेक निकायमा ३३ प्रतिशतको व्यवस्था गरेकोले निजामती सेवा ऐनमा महिलालाई ३३ प्रतिशतको अनिवार्य व्यवस्था होस् ।’ त्यसमा एकल महिलालाई समेत विशेष व्यवस्था मिलाउन आग्रह गरिन् ।
प्रदेश १ सभाको शून्य समयमा बोलेका सांसदहरूले बैंकको ब्याजदर घटाउन पनि माग राखेका छन् । झापाका सांसद एकराज कार्कीले बैंकहरु नव धनाढ्य साहु महाजन भएको बताए । उनले बैंकको ब्याजदर सिंगल डिजिजमा ल्याउन माग राखे । प्रदेश सभा सदस्य गीता तिम्सिनाले अव्यवस्थित बोसोवासी र सुकुम्वासीको समस्या भूमि आयोगले समेत समाधान गर्न नसकेको बताइन् । उनले मोरङ क्षेत्र नम्बर ३ क्षेत्रमा रहेको दोहोरो स्वामित्वको समस्या राष्ट्रिय भूमि आयोगले सम्बोधन गर्न नसकेकाे बताइन् ।
उनले भनिन्, ‘पुर्जा एउटा नाममा छ, जोतभोग अर्कैले गर्ने समस्या धेरै वर्षदेखिको हो, समस्या समाधानमा ध्यान जाओस् ।’
उनले बेलवारी नगरपालिका वडा नम्बर ८ मा पेट्रोल खानी भनेर बोर्ड राखिएको भए पनि त्यसको उत्खनन् र व्यवस्थापनको काम कहाँ पुग्यो भन्दै प्रदेश सभामा प्रश्न उठाएकी छिन् ।
ओखलढुङ्गाका सांसद प्रदीपकुमार सुनुवारले चालु खर्च बढी र पुँजीगत खर्च हुन नसकेको बताए । उनले पुँजीगत खर्च कति भएको हो सम्बन्धित मन्त्रालयले सदनलाई जानकारी गराउन आग्रह गरे ।
प्रदेश सभा सदस्य मिना श्रेष्ठले सुनसरी मोरङको सीमा क्षेत्रबाट बग्ने बुढी खोलाको बाढीले हरेक वर्ष समस्या सिर्जना गर्दै आएको बताइन् ।
‘बुढी खोलामा बर्सेनि बाढी आउने र करोडौँको क्षति हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले नै तयारी नगर्ने हो भने आगामी दिनमा थप समस्या आउन सक्छ ।’ उनले बैंकको ब्याजदर र ताकेताको कारण धेरै व्यवसायी मानसिक रूपमा तनावमा हुने गरेकोले बैकले दिने यातनालाई नियन्त्रण गर्नु पर्ने बताइन् ।
प्रदेश सभा सदस्य यशोदा कायस्थाले सुरुङ मार्ग मार्फत तमोरको पानी धरान ल्याई खानेपानीको समस्या समाधान गर्न आग्रह गरिन् । लेउती धरान सुरुङमार्ग आयाेजना सञ्चालनमा ल्याउँदा सुनसरी र मोरङका नागरिकले राहत पाउने उनको भनाइ छ।
अर्का प्रदेशसभा सदस्य रामप्रसाद मेहताले विकासको काममा ठेकेदारले लापरबाही गरेको बताए ।
विजयकुमार राईले ग्यास सिलिन्डर विस्फोटका घटनाहरू बढ्दै जाँदा त्यसको सावधानी र सुरक्षाको विषय जटिल बनेको बताए । उनले ग्यास सिलिन्डर ग्यास पड्किएर धरानमा ८ जना घाइते भएको बताउँदै राज्यले निःशुल्क उपचार गरी उचित क्षतिपूर्ति दिनु पर्ने बताए ।
‘ग्यास र सिलिन्डर उत्पादन गर्ने कम्पनीलाई अनुगमन गर्नु पर्ने आवश्यक छ, उनले भने, अहिले नै ध्यान नदिने र मापदण्ड विपरीत रहेको हो भने हामी कोही पनि सुरक्षित छैनौँ, अनुगमन गरी कारबाहीको विषय बनाइयोस् ।’