एमालेको ग्रासरुट अभियान : विद्यालय शिक्षा सुधारदेखि भजन किर्तन समुहसम्म
विराटनगर। नेकपा एमाले मोरङले पार्टी केन्द्रले आरम्भ गरेको मिसन ग्रासरुट अभियानमा विद्यालयमा फुलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर र भजन किर्तन समुहलाई सम्मानसम्मको अभियान सञ्चालन गर्ने भएको छ।
फागुन ५ गते औपचारिक रुपमा संगठन सुदृढीकरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरि पार्टीका नेताहरुलाई जिम्मेवारी दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ। एमाले मोरङको बिशेष बैठकले अभियानका क्रममा सामुदायिक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फुलबारी अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ।
नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार, संगठनात्मक र बैचारिक काम सँगै समाजसँग जोडिएका धेरै क्षेत्रमा अभियान सञ्चालन गरिनेछ । अभियानका क्रममा एमालेले स्वास्थ्य केन्द्रहरुको सरसफाई गर्ने छ भने आम जेष्ठ नागरिकहरुको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूचि बनाएको एमाले मोरङले समाजमा रहेका विभिन्न भजन, किर्तन मण्डलीहरु वीच छलफल गर्ने र वडास्तरीय प्रतिस्पर्धात्मक भजन-किर्तन गराइ पुरस्कारको व्यवस्था गर्ने जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए । सहकारी तथा साना किसान सहकारी सदस्यहरुको भेलाको आयोजना गरि विषयगत प्रशिक्षण दिने, योजना बनाएको एमालेले सामुदायिक वन उपभोक्ताहरुको समेत भेला र विषयगत प्रशिक्षण दिइने जनाएको छ ।
यस्तै समाजमा रहेका धामी, झाक्री, ज्योतिषीहरु र आयुर्वेद औषधि प्रयोग गर्नेहरुसंग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने र उनीहरुलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्र्रणालीका वीच अन्तर सम्वाद गर्ने जनाएको छ । यस्तै उत्कृष्ट योगदान गर्नेहरुका घरघरमा गएर सम्मान गर्ने तथा गुनासाहरुको अध्ययन गर्ने एमालेको योजना रहेको छ ।
समाजमा रहेका विभिन्न धार्मिक-सास्कृतिक समुह, पण्डित÷पुजारी, पास्टर, वौद्ध भिक्षुक, मुल्मि, माझीहाडाम र मुखियाहरुलगायतसँग पार्टी नेतृत्वको समुहले भेटघाट गर्ने दुखःसुखका कुरा गर्दै सामाजिक सम्मान गर्ने अभियानमा समेटिएको छ ।
यसैगरि नेकपा एमालेका सबै पार्टी सदस्यहरुलाई अनिवार्य करेसावारी बनाउने र तरकारीमा आत्मानिर्भर बन्न कोसिस गर्ने अभियान पनि चलाउने निर्णय गरेको छ । पार्टी सदस्यले कम्तिमा एउटा फलफुलको विरुवा रोप्न अनिवार्य गरेको छ ।
यस्तै किसानहरुका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसंग समन्वय गरेर किसान हरुलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन कोशिष गर्ने उत्प्रेरित गर्ने भएको छ। जस्कालागि गोवर मल-घन्सी -मुङदाल-झोल मल- कृषि चुना- पिनाको प्रयोग गर्दै आफ्नो माटाको परिक्षण गर्न प्रोत्साहनको अभियान सञ्चालन गर्ने भएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदिशप्रसाद कुसियतलगायत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान लिएर मोरङमा खटिनुभएका नेताहरुको बैठकमा उपस्थिती रहेको थियो । बेठकले पार्टी सुध्रिढीकरण तथा विस्तारका लागि चलाए मिसन ग्रासरुट० अभियानमा संगठनात्मक राजनीतिक र वैचारिक काम लाई फागुन १५ गतेभित्र सञ्चालन गर्ने छ।
यस अभियानमा पालिकास्तरमा अभियन्ता र पालिका पदाधिकारीको बैठकको आयोजना गरि कार्ययोजना निर्माण गर्ने र आ–आफ्नो कार्यविभाजन सहितको प्रस्ताव तयार गर्नुपर्ने छ भने पालिका कमिटीका साथै पार्टी वडा कमिटी अध्यक्ष र स्थानीयतहका सबै वडा अध्यक्षहरु र प्रमुख, उपप्रमुख सहित अभियन्ताहरुको संयूक्त बैठक बस्नेछ ।
बैठकले विस्तृत कार्ययोजना प्रस्तावमााथि छलफल गर्दै मिसन ग्रासरुटको महत्व, यसले पार्ने प्रभाव र सबैको दायित्वका विषयमा प्रशिक्षित गर्ने बताइएको छ । यस क्रममा लगातार बैठकमा ५ पटकसम्म अनुपस्थित रहने सदस्यहरुलाई जिल्ला कमिटीबाट बिदाई गर्ने निर्णय गरेको बैठकले दुईपटक भन्दा बढी बैठकमा अनुपस्थितलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
यस्तै बैठकले पालिका तथा वडास्तरका कमिटीहरुलाई पालिका कमिटी र वडा पदाधिकारी सहितको प्रशिक्षण, टोल-वडा-नगर पदाधिकारी प्रशिक्षण, वुद्धिजिवी भेला, सहकारी नेतृत्व भेला प्रशिक्षण, जनसंगठन नेतृत्व भेला प्रशिक्षण र सबै जनसंगठनको अधिवेशन केन्द्रित वडा स्तरिय उत्प्रेरक वनाई कामको जिम्मेवारी प्रादन गर्ने लगायतका काम फागुन ३० भित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
यसैगरि सोहि समय भित्र पार्टी सदस्यहरुको नविकरण तथा वडा कमिटी र टोल कमिटी पदाधिकारी बैठकबाट नयाँ पार्टी सदस्यताका बिषयमा योजना वनाउन समेत निर्देशित गरेको छ।