एनआईसी एसिया बैंकले ल्यायो मोबाइल एपबाटै २ लाखसम्म कर्जा पाउने व्यवस्था
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग(एनआईसी एसिया मोबैंक) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा सुरु गरेको छ । बैंकले ल्याएको उक्त सेवाले ग्राहकले मोबाइल एपमार्फत कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई र कागजी प्रक्रियाबिना नै अधिकतम रु. २ लाखसम्मको ऋण लिन सक्ने छन् । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकले उक्त सेवा पाउने बैंकले जनाएको छ । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्योल गर्नेछ । कर्जा लिन योग्य ग्राहकको मोबाइल बैंकिङ एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको जनाएको छ । कर्जा लिन योग्य ठहरिए एनआईसी एसियाको मोबाइल बैंकिङ एपमा लगइन गरी त्यहाँ उल्लेखित एनआईसी एसिया फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
बैंकका अनुसार ‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई मोबाइल बैंकिङ एपमार्फत अघि बढाइरहेको छ । जसअनुसार ग्राहक महानुभावले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।