प्रदेश-१ : राप्रपा सरकारबाट बाहिरिँदा धर्मराएको एमाले सरकार
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सरकार र प्रदेश सरकारबाट बाहिरिने निर्णय भएसँगै अब देशभरकै सत्ता समीकरण परिवर्तन हुने अवस्थामा पुगेको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन समीकरण नै हेरफेर गरेपछि त्यसको असर केन्द्रदेखि प्रदेशसम्म नै देखिने भएको हो । गत पुस २४ गते गठन भएको प्रदेश १ सरकार ढल्ने अवस्थामा पुगेको छ । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सिट रहेको छ भने नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपा १ सिटमा सीमित रहेको छ ।
यसरी हेर्दा प्रदेश १ मा राप्रपा सरकारबाट बाहिरिँदा नेकपा माओवादीले साथ नछाड्दासम्म प्रदेश १ को सरकार ढल्ने अवस्था देखिँदैन । अहिलेको सत्ता समीकरण परिवर्तन हुने देखिएको छ । राष्ट्रपतिको निर्वाचनको लागि भनेर ५ दलीय गठबन्धन ब्युँताएको बताएका दलहरूले सरकारमा पनि हिस्सेदारी गरेर अघि बढ्ने देखिन्छ । त्यस्तो अवस्थामा प्रदेश १ मा नेकपा माओवादी पनि सरकारबाट बाहिरिने बाहिरिँदा एमाले ४० र जसपा १ गरी ४१ मा झर्दा एमालेको सरकार ढल्नेछ ।
प्रदेश १ मा जसपाले एमालेलाई साथ दिँदा राप्रपाको साथले एमाले सरकारमा रहन सक्ने देखिन्छ । केन्द्रीय समीकरण अर्कै मोडमा गएकोले जसपाले एमालेलाई साथ दिने सम्भावना कमजोर देखिएको छ। प्रदेश १ मा सरकार बनाउन आवश्यक पर्ने बहुमत सङ्ख्या ४७ जना हो अहिले बनेको बहुमतको सरकार ढल्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने देखिन्छ । प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्ति सिटौलाले केन्द्रमा सरकारबाट बाहिरिने निर्णय गरेको भएपनि प्रदेशको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् ।
केन्द्रीय सरकारले सरकारबाट बाहिरिने निर्णय गरेको अवस्थामा आफूहरू बाहिरिने उनले बताए । राप्रपा सरकारबाट बाहिरिने निर्णयले एमालेले फेरी विश्वासको मत लिनु पर्ने हुन्छ । ३० दिन भित्र विश्वासको मत नलिएमा एमालेको सरकार ढल्नेछ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राप्रपा सरकारबाट प्रदेशमा बाहिरिने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएमा अहिलेको एमालेको नेतृत्वको सरकारको प्रमुखको हैसियतमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने बताए । विश्वासको मत लिने अवस्थामा पुग्दा सत्ता समीकरण फेरिएकोले नेकपा एमालेले माओवादी केन्द्रबाट विश्वासको मत पाउन सक्ने देखिँदैन । त्यस्तो अवस्थामा प्रदेश १ को सत्ता समीकरण परिवर्तन हुने देखिन्छ ।
राप्रपाले सरकारमा सहयोग गरेमा र जसपा सरकारबाट बाहिरिने अवस्था नरहेमा अहिलेको अवस्थामा एमालेको सरकार रहने देखिएपनि सरकारबाट राप्रपा बाहिरिएकोले प्रदेशमा अन्यौलता देखिएको उच्च अदालत बारका उपाध्यक्ष अनिल खड्का बताउँछन् । सरकार हेरफेर र समीकरण फेर बदलले नागरिकमा वितृष्णा बढेको छ। संघीयता माथिनै प्रश्न उठिरहेको बेला दलहरूको खिचातानीले नागरिकलाई प्रशस्त प्रश्न उठाउन बल पुगेको उनी बताउँछन् ।