राप्रपाले गर्यो प्रदेश-१ को सरकार नछाड्ने संकेत
विराटनगर । संघीय सरकारबाट बाहिरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश-१ मा सरकार नछाड्ने भएको छ । संघीय सरकारबाट शनिबार बाहिरिएको राप्रपाले सबै प्रदेशमा सरकार छाड्ने भनेपनि प्रदेश-१ मा नछाड्ने भएको हो ।
तत्काललाई प्रदेश-१ को सरकारमा सहभागी मन्त्रीहरू फिर्ता नहुने र दिइएको समर्थन पनि फिर्ता नहुने राप्रपा नेपालले जनाएको छ । केन्द्रको परिस्थिति जे भएपनि प्रदेश-१ को परिस्थिति फरक भएकाले पार्टी भित्र छलफल भईरहेको राप्रपा नेताहरूले बताएका छन् । पार्टीभित्र छलफल गरेर मात्र सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने निर्णय हुने राप्रपाका एक नेताको भनाई छ ।
सरकारका विषयमा निर्णय गर्न राप्रपाले आज प्रदेश कमिटीको बैठकपनि बोलाएको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि भक्तिप्रसाद सिटौलालाई राजीनामा नदिन भनेको स्रोतले बताएको छ । प्रदेश-१ मा राप्रपाको एक मन्त्री रहेका छन् । राप्रपाले प्रदेश-१ मा कृषि तथा सहकारी मन्त्रालय पाएको छ । राप्रपाको प्रदेश १ मा ६ सिट रहेको छ ।
प्रदेश-१ मा नेकपा एमालेको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र जसपा सरकारमा सहभागी छन् । नेकपा एमालेको ४० सिट रहेको छ । नेकपा माओवादी १३ सिट, राप्रपा ६ सिट रहेकोमा जसपाको १ सिट रहेको छ ।