वसन्तपुरमा चिर ठडियो, होली पर्व शुरु (तस्बिरहरू)
काठमाडौँ । होली पर्व सुरु भएको जानकारी दिन काठमाडौँको वसन्तपुरमा आज बिहान विधिपूर्वक चीर ठड्याइएको हो ।
वसन्तपुरमा फागुन शुक्ल अष्टमीमा चीर ठड्याएपछि काठमाडौँ उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । काठमाडौँ उपत्यकामा आज अर्थात् फागुन शुक्ल अष्टमीमा चीर ठड्याएदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने परम्परा रहिआएको छ।
वसन्तपुरमा चीर ठड्याउँदा त्यहाँ उपस्थित भएकाहरूले विभिन्न रङ्गहरू दलेर खुसी साटासाट गरेका थिए । साथै गुरुजुका पल्टनबाट हर्ष बढाइँ समेत गरिएको थियो ।
यसवर्ष काठमाडौँ उपत्यका लगायतका पहाडी जिल्लाहरूमा फागुन २२ गते र तराईका जिल्लाहरूमा फागुन २३ गते होली पर्व मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।
फागुन शुक्ल अष्टमीमा ठड्याइएको रङ्गीचङ्गी तीन तल्ले चीर, फागुन पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि उपत्यकामा होली पर्व सकिने परम्परा छ ।