आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउने घोषणा गरेका छन् ।

विगतमा खेलकुद क्षेत्रमा निकै कम बजेट विनियोजन गर्दै आएको भन्दै उनले आगामी वर्ष बजेट बढाउने उनले बताए । आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार ललितपुरमा निर्मित च्यासल रंगशाला उद्घाटन गर्दै प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने बताए ।

मर्यादा, संस्कृति स्थापित गर्न, राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास गर्न खेलको महत्व रहेको उनले बताए ।

‘आउने दिनमा यो क्षेत्रलाई जति सबल बनाउन सक्यो, जति संस्थागत र विकसित गर्न सक्यो, त्यति नै हाम्रो समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित हुने कुरा र सिंगै राष्ट्र पनि सबल रुपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो,’ प्रचण्डले भने ।

देशका सबै प्रदेश र पालिकामा खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको समेत उनले बताए ।

‘अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशहरूमा, सबै पालिकाहरूमा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ,’ उनले भने ।

रंगशाला १० हजार दर्शक क्षमताको छ । अहिले नयाँ रंगशालामा उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *