आठ सय वर्षअघिकै स्वरुपमा बन्यो भक्तपुरको ‘जलेश्वर मन्दिर’
काठमाडौँ । भक्तपुरलाई पोखरीहरूको नगर भनिन्छ । उक्त सहरमा साना–ठुलागरि ४ दर्जनभन्दा बढी ऐतिहासिक महत्व बोकेका पोखरीहरू रहेका छन् । तिनै पोखरी मध्ये एक ‘भाजु पुखु’ हो । भक्तपुर क्याम्पस नजिकै रहेको भाजु पुखुको ठिक बिच भागमा जलेश्वर मन्दिर छ ।
भक्तपुरमा जलेश्वर मन्दिर ? भनेर यहाँहरू अचम्ममा पर्नु होला । अचम्ममा पर्नु स्वभाविक पनि हो । किनभने दुई वर्षअगाडि मात्र पनि भक्तपुरको भाजु पुखुमा जलेश्वर मन्दिर थिएन । अहिले मन्दिर भएकोे ठाउँमा त्यसअघि माटोको थुम्को(ढिस्को) मात्र देखिन्थ्यो ।
पुरानो जलेश्वर मन्दिर कहिले बनेको थियो ? कहिले भत्कियो ? यी प्रश्नको जवाफ अहिलेसम्म कसैलाई पनि थाहा छैन् । तर, भक्तपुर नगरपालिकाले अध्ययन गरेर निकालेको प्रतिवेदनमा उक्त पोखरी आठ सय वर्ष पुरानो रहेको उल्लेख छ ।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले केही वर्षअघि नगरपालिकाले तयार पारेको प्रतिवेदन र मन्दिरको ऐतिहासिकताको बारेमा विद्वानहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा भाजु पोखरीको प्रारम्भिक प्रतिवेदन अध्ययनबाट यो पोखरीको निर्माण १२ औँ शताब्दीमा बनेको देखिएको उल्लेख गरेका थिए ।
भक्तपुर नगरपालिकाका उपभोक्ता समितिको अध्यक्ष लक्ष्मीनारायण राजलवतका अनुसार भक्तपुरवासीले सिद्धपोखरीको पानी सुकाउन एकै रातमा उक्त पोखरी निर्माण गरेका थिए । पोखरी खन्दाखन्दै उज्यालो भयो र बिचमा एउटा माटोको ढिस्को बाँकी रह्यो । उक्त कुरा उनले दन्त्य कथाजस्तै गरी सुन्दै आएको बताउँछन् ।
भन्छन् ‘मन्दिर कहिले भक्तिएको हामीलाई थाहा भएन । हामीले सुनेअनुसार भक्तपुरबासीले सिद्धपोखरीको पानी सुकाउन एक रातमै पोखरी बनाएका थिए । बनाउँदा बनाउँदै बिचमा एउटा ढिस्को बाँकी भएको भन्ने कुरा हामीले दन्त्य कथाजस्तै गरी सुन्दै आएका थियाैँ ।’
उनका अनुसार पहिला उक्त स्थानमा मन्दिर थियो भन्ने कुरा कसैलाई पनि थाहा थिएन ।
वि.सं २०५८ सालमा भक्तपुरवासीले भाजु पोखरीको सरसफाई गर्दा मन्दिरको जग देखेका थिए । त्यहाँ विभिन्न बुट्टावाल इँटा, बुट्टावाल काठ, इँटाकै सिंह भएको मूर्ति भेटिएकाले त्यस स्थानमा मन्दिर रहेको कुरा थाहा भएको उनले बताए ।
उनले भने, ‘पहिले त्यहाँ सानो माटोको ढिस्को जस्तो थियो । २०५८ सालमा मर्मत गर्न खोज्दा विभिन्न डिजाइन भएको इँटा, इँटाकै सिंहको मूर्ति भेटियो । त्यसरी मन्दिर भएको पत्ता लगाइयो ।’
मन्दिर रहेको कुरा थाहा पाएपछि भक्तपुर नगरपालिकाले विभिन्न विषेशज्ञ, पुरातत्वविद् र इतिहासकारसँग बसेर छलफल गर्याे । छलफलका आधारमा उक्त मन्दिर शिखर शैलीको रहेको बताइए पनि मन्दिरको ऐतिहासिकता भने यकिन भएको छैन ।
भक्तपुर नगरपालिकाका प्रवक्ता दामोदर सुुवालका अनुसार त्यहाँ भेटिएका विभिन्न बुट्टावाल इँटा र काठका आधारमा विषेशज्ञ, पुरातत्वविद् बसेर छलफल गर्दा शिखर शैली वर्गको मन्दिर भएको कुरा टुङ्गो लागेपछि शिखर शैलीकै मन्दिर बनाइएको छ ।
उनी भन्छन्, ‘मन्दिर भएको पत्ता लागेपछि विषेशज्ञ, पुरात्तात्विक व्दिहरू बसेर छलफल गर्याै । मन्दिर यस्तो हुनुपर्छ भनेर निष्र्कष निकालेपछि अनि नक्सा बनाएर त्यहि आधारमा निर्माण गरेका हौँ ।’
उपभोक्ता समितिको अध्यक्ष लक्ष्मीनारायण राजलवतले वि.सं २०५८ सालमा पोखरी मर्मत गरिएको तर स्थानीय निकायका जनप्रतिनिधि नभएको कारणले मन्दिर निर्माण हुन नसकेको बताए ।
नेपाल संघीयतामा गएसँगै भक्तपुरले पनि आफ्नो जनप्रतिनिधि पायो । त्यसपछि मन्दिर निर्माणको कामलाई अघि बढाइयो । झन्डै दुई वर्षअघि मात्रै शिलान्यास गरिएको जलेश्वर मन्दिर एक महिनाअघि मात्रै निर्माण सकिएको छ ।
नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले, ‘मन्दिरको पुरात्तात्विक र ऐतिहासिकता अध्ययन गरेर नक्सा तयार पारियो । अहिले एक महिना जति अगाडि त्यो मन्दिर पुनः निर्माण भइसकेको छ ।’
तस्बिरहरू : सराेज बस्नेत