निरंकुश बन्दै प्रदेश सभा, बाहिर ताला लगाएर ‘कोशी’ प्रदेश नाम घोषणा
विराटनगर । प्रदेशको नामकरण गर्ने बारेमा प्रदेश सभा निरंकुश बनेको छ । प्रदेश १ को नामकरणको मत विभाजन र घोषणा गर्ने बेलामा पत्रकारलाई बाहिर निकालिएको विषयले प्रदेश सभा आलोचित बनेको हो ।
जनताले निर्वाचित गरेर पठाएको जनप्रतिनिधिको थलोलाई प्रदेश सभालाई प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली र प्रदेश सभाका सभामुख बाबुराम गौतमले समाचार संकलन गर्न गएका पत्रकारलाई समेत बाहिर निकालेर मत विभाजन गरे भने मत विभाजन पछिको घोषणा समेत पत्रकारलाई खिच्न दिएनन् ।
बुधबार राती पौने १० बजेको समयमा प्रदेश सभाले प्रदेश १ को नाम कोशी घोषणा गर्दै गर्दा भित्र प्रदेश सांसद बाहेक थिएनन् । पत्रकारलाई बाहिर निकालेर प्रदेश सभाले नाम घोषणा गरेको भन्दै सभामुख गौतमको आलोचना भएको छ ।
प्रदेश सभा भित्रका गतिविधिलाई बन्देज लगाउने काम प्रदेश सभाका केही कर्मचारी र सभामुखबाट भएको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले बताए । ‘प्रदेशको नामकरण गर्ने विषयमा प्रदेश सभा निरंकशु देखियो,’ उनले भने, ‘प्रदेश सभा भित्र मत विभाजनको रिपोर्टिङ गर्न नदिएर बाहिर निकालियो, बाहिर ताला लगाएर प्रदेश १ को नाम घोषणा गर्नुले सूचनामाथि अंकुश लगाउने खालको काम भएको छ ।’
राती नै पत्रकारहरूले सभामुख गौतमलाई भेटेर प्रदेश सभा निरंकुश बन्दै गएको प्रति आपत्ति जनाएका थिए । पत्रकारलाई बाहिर राखेर नामकरण जस्तो विषय घोषणा गरिएकोमा पत्रकारले असन्तुष्टि व्यक्त गरेपछि सभामुख गौतमले आफूबाट नै त्यो गल्ती भएको स्वीकार गरेका छन् । ‘कमजोरी भएको साँचो हो, त्यसकोलागि म एक्स्क्युज गर्न चाहन्छु, हाम्रो तर्फबाट गल्ती भएकोमा म क्षमा चाहन्छु,’ सभामुख गौतमले भने, ‘मैलेपनि संसदीय प्रक्रिया भित्र रहेर ढोका खोल्ने आदेश दिएँ, त्यस बेलामा ढोका खुल्नुपर्थ्यो त्यहाँ ढोका नखोलेको बुझियो ।’
तपाईँहरू बाहिर जानु भयो, कता गईसक्नु भयो भन्ने लागेको पनि सभामुखले भन्न भ्याए । ‘तपाईँहरू बाहिर हुनुहुन्न भन्ने लागेको थियो, मैले मेरो आसन छाडेर हिँड्न मिल्दथ्यो,’ उनले भने, ‘आदेश दिएपछि तपाईँहरू आउनु हुन्छ भन्ने लागेर प्रतीक्षा गरेको थिएँ, त्यहाँ भित्रको मैले कमीकमजोरी महसुस गरेँ ।’
सभामुख गौतमले प्रदेश सभाको लाइभ आफैँले नगर्न भनेको बताएका छन् । उनैले सञ्चार माध्यमहरुलाई लाइभ गर्न र बाहिर निकाल्न भनेको पनि पत्रकारहरू समक्ष स्वीकार गरेका छन् । ‘बाहिर विभिन्न ईन्ट्रेष्ट समूहहरू हुने र उनीहरूले खेल्ने ठाउँ पाउने भएको मैलेले लाइभ नगर्न भनेर रोकेको हुँ,’ उनले भने, ‘भित्रका गतिविधि बाहिर जाँदा स्वार्थ समूहहरू सलबलाउने देखियो ।’
कोशी प्रदेश संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लम्सालले नागरिकलाई सुसूचित हुन पाउने अधिकारलाई संसद्ले कुण्ठित गराउने काम गरेको बताए । ‘पछिल्लो समय प्रदेश सभा निरंकुश हुँदै गएको देखियो,’ उने भने, ‘तत्काल यस्ता विषय नसुधार्ने हो भने संघीयता विरोधीहरूलाई मलजल पुग्ने हैन नागरिकहरूबाट नै विरोधका स्वरहरू आउन थाल्छ ।’