टोली यू–१९ विश्वकप छनाेट : नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य
काठमाडौँ । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भयो ।
खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ । नेपाल र यूएई दुवैले राउन्ड रोबिनको पहिलो चार खेल जितेर निर्णायक खेलमा उभिएका हुन् । नेपालले २०१६ मा आईसीसी यू–१९ विश्वकप खेल्ने अवसर पाएको थियो । त्यसयता यो अवसर पाएको छैन ।
यूएईको इडेन गार्डेन ओभल मैदानमा बिहीबार भएको खेलमा नेपालको सुरुवात खराब नेको थियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई दबाबमा राखेका थिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन मात्र जोड्न सके । नेपाल सातौँ ओभरमा १९–३ को स्थितिमा पुगेको थियो ।
कप्तान देव खनालले अर्धशतक बनाएपछि नेपाल पुनः चम्किएको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।
विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो । उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमा रनआउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके । हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए ।
ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन दिए ।