प्रचण्डको आँट र माधव नेपालले छाती चौडा बनाउँदा गठबन्धन ब्युँतियाे : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आँट र माधवकुमार नेपालले चौडा छाती बनाएकाले चुनावअघिको गठबन्धन ब्युँतिन सम्भव भएको बताएका छन् ।
बिहीबार काठमाडौँको तीनकुनेमा राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालको प्रशंसा गरेका हुन् ।
प्रशिक्षणमा सहभागी जसपा सांसद राजकिशोर यादवका अनुसार रामचन्द्र पौडेल राष्ट्रपति हुन उपयुक्त पात्र भएको देउवाले बताए ।
देउवाको भनाई उद्त गर्दै उनले भने, ‘पौडेल आफ्ना पुराना साथी भए पनि केही दिएन भन्ने गुनासो सुनिने गरेको छ अब यस्तो हुने छैन । रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो,अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौँ ।’
त्यस्तै प्रशिक्षणमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पौडेल राष्ट्रपतिका लागि उपर्युक्त पात्र भएको बताए भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘चुनावका बेला म रामचन्द्रजीको निर्वाचन क्षेत्रमा गएर उहाँ प्रधानमन्त्री हुने नेता हो भनेको थिएँ । उहाँ राष्ट्रपति हुनु हुने भयो उहाँले संविधानको रक्षा गर्न सक्नुहुन्छ ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट हाल्न आग्रह गर्न आठ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन र संयोजन संयन्त्रले अभिमुखीकरण कार्यक्रम गरिरहेको छ ।