काठमाडौँ–५ का सांसद पौडेल र मेयर बालेनबीच मिलेर काम गर्ने ७ बुँदे सहमति
काठमाडौँ । काठमाडौँ संसदीय निर्वाचन क्षेत्र नम्बर ५ का सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । भेटमा काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने सहमतिभएको नेता पौडेलले जानकारी दिएका छन् ।
सडक विस्तार, सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण, खानेपानी, ढलनिकासलगायत पूर्वाधार विकास, विस्तार र सुधारका लागि मिलेर अघि बढ्न ७ बुँदे सहमति भएको पनि उनले बताएका छन् ।
यस्तो छ सहकार्यका लागि सहमति भएका ७ बुँदा
१. कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।
२. सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने ।
३. मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।
४. हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।
५. धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने ।
६. टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।
७. सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने ।