नेपाल युएईसँग ६८ रनले पराजित, ३१.५ ओभरमै अलआउट
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग पराजित भएको छ । युएईले दिएको २०८ रनको लक्ष्य पच्छ्याउने क्रममा नेपालले ३१.५ ओभरमै सबै विकलेट गुमाएर १३९ रनमै समेटिएको हो ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन जोडे । अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए । ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए । आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन् ।
यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १–१ विकेट लिए । मौसम ढकाल घाइते भएपछि उनको स्थानमा लामिछाने खेलेका हुन् ।