प्रदेश नामकरण घोषणामा पत्रकारलाई निकालिएकोप्रति मञ्च र सञ्जालद्वारा खेद व्यक्त

विराटनगर । संसदीय मामिला पत्रकार सञ्जाल नेपालले प्रदेश १ को नामकरणको सन्दर्भमा भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सञ्जालका अध्यक्ष विष्णुप्रसाद घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १७ गते प्रदेश १ को नामकरणको प्रक्रिया अगाडी बढाउने क्रममा प्रदेश एकको प्रदेश सभाले पत्रकारहरू माथि गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘प्रदेश सभामा नामकरण प्रक्रियाका क्रममा मत विभाजन प्रक्रिया र घोषणा गर्ने समयमा पत्रकार दीर्घाबाट मर्यादा पालक लगाएर समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई बाहिर निकालिएको घटनालाई कुनै पनि हिसाबले न्यायोचित मान्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमले पत्रकारहरूलाई दुर्व्यवहार गर्नु सञ्चार क्षेत्रको अपमान हो ।’

खुल्ला संसद्का बारेमा व्यापक बहसहरू भइरहेको अवस्थामा प्रदेश सभाहरू खुला, पारदर्शी र जबाफदेही हुनुपर्नेमा प्रदेश एकले पत्रकारहरू माथि गरेको व्यवहार त्यस विपरीत भएको ठहर सञ्जालको छ ।

यस्तै कोशी प्रदेश संसदीय पत्रकार मञ्चले विज्ञप्ति जारी संसद्को गरिमालाई कायम राख्दै संसद्मा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई प्रदेश सभाको सभाहलबाट बाहिर निकाल्नु सामान्य घटना नभएको बताएको छ ।

अध्यक्ष गणेश लम्साल र सचिव कुमार लुइँटेलले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूको सुसूचित हुन पाउने हक अधिकार कुण्ठित गर्ने प्रयास हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन र अहोरात्र प्रदेश सभालाई मर्यादित बनाउनको लागि खटिँदै आएका पत्रकारहरू प्रतिको दुर्व्यवहार भएको भनिएको छ । मञ्च उक्त घटनाप्रति खेद व्यक्त गरेको छ ।

‘आगामी दिनमा प्रदेशसभाका सबै गतिविधि र प्रक्रियाहरूमा निर्बाध र स्वतन्त्र रूपमा पत्रकारहरूलाई समाचार संकलन गर्ने स्वतन्त्रता प्रदान गर्न मञ्च माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नामकरण गर्ने दिन प्रदेशसभाको आधिकारिक पोर्टलबाट बैठकका कुनैपनि गतिविधिहरू प्रत्यक्ष प्रसारण नगरी आम नागरिकहरू संसदीय गतिविधि सुसूचित हुने अधिकारबाट वञ्चित हुनु परेको हाम्रो ठहर छ ।’

आगामी दिनमा यस्ता घटना दोहोरिएमा संसदीय पत्रकार मञ्च चुप लागेर बस्न नसक्ने प्रदेशसभा, प्रदेशसभा सचिवालय, प्रदेश सरकार, राजनीति दल, प्रदेश सभा सदस्यलाई मञ्चले सचेत गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *