संघीयता कार्यान्वयनमा कांग्रेस सुस्त देखियो : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता कार्यान्वयनमा नेपाली काँग्रेस सुस्त देखिएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनले प्रदेशसभा सदस्यहरूका लागि जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै मतदान गर्ने तर संघीयता कार्यान्वयनका लागि काँग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले कांग्रेस सभापति डेढ वर्ष प्रधानमन्त्री हुँदा पनि संघीयतामा चासो नदेखाएको गुनासो गरे ।
‘कर्मचारी समायोजन लगायतका कामका लागि काँग्रेस नेतृत्वमा सरकार बनाएका थियौँ’, उनले भने, ‘तर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू धर्नामा बस्दा पनि केही गर्नुभएन । अहिले पनि हाम्रो गठबन्धनकै प्रधानमन्त्री हुनुहुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकेलगत्तै संघीयता कार्यान्वयनका लागि कर्मचारी र प्रहरी समायोजन गर्नुपर्छ । र नागरिकता समस्या पनि समाधान गर्नुपर्छ ।’