कोभिड १९ को संक्रमण रोकियो ?
काठमाडौँ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । यो रोग संक्रमित व्यक्तिले खोक्दा वा हाछ्उिँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दछ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा धेरै मानिसले प्रियजन र आफन्त गुमाएका छन् भने राष्ट्रले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको छ । उक्त क्षतिबाट विश्वका कैयौँ राष्ट्र अझै माथि उठ्न सकेका छैनन् ।
जताततै कोरोनाको संक्रमणको भयानक अवस्था रहँदा लकडाउन, कोभिडको खोप, भौतिकदूरी र सुरक्षाका अनेक मापण्डका कारण कोभिडलाई नियन्त्रण गर्न सघाएको छ । लामो समयदेखि कोरोना संक्रमणको अवस्था न्युन हुँदा विस्तारै मानिस पहिलेकै अवस्थामा फर्किरहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा गत बिहीबार कोरोना संक्रिमित संख्या १ रहदा मृत्यु हुने संख्या शून्य थियो । उक्त दिनमा ३ जना कोरोना संक्रमणमुक्त भएका थिए ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकलाई हेर्दा शुक्रबार, शनिबार, आइतबार र सोमबार भने कोरोना संक्रमणको संख्या शून्य देखिएकोे छ । विगतका तथ्यांकमा दैनिक १ वा २ जना कोरोना संक्रमणमा हुने गर्थे भने अहिले संक्रमणको संख्या नै शून्यमा पुगेको छ । मृत्यु हुने संख्या भने लामो समयदेखि नै शून्यमा पुगेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । ९ लाख ८९ हजार १ सय २४ जना निको भइसकेका छन् । देशमा कुल संक्रमित संख्या १० लाख १ हजार १ सय ४९ पुगिसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या जम्मा ५ जनामा सीमित भएको छ ।