गलत संविधान लेखिएको राष्ट्रिय सभा अध्यक्षको गम्भीर टिप्पणी
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटनबारे गलत संविधान लेखिएको गम्भीर टिप्पणी गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्दा उत्पन्न परिस्थितिलाई लक्षित गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो टिप्पणी गरेका हुन् ।
बुधबार पारिवारिक निजी वन संघ नेपालको ९ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गरेको बताए ।
‘जनप्रतिनिधिमूलक संस्था ठीकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो’, उनले भनेका छन्, ‘संविधान बनाउँदा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ ।’
राजनीतिक दलहरुले ढंग पुर्याएर मिलेर चलाउन नसक्ने, अनि कागजलाई दोष दिने गरेको अध्यक्ष तिमिल्सिनाले बताए । अहिले संसद विघटन गर्नु हुन्न भन्ने क्रान्तिकारी हुने भन्दै उनले भने, ‘कस्तो विडम्बना भागबण्डा गरेको छ, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा गर्यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने ?’
‘चुनाव गर्ने हो भने नयाँ आउँथ्यो, त्यस्तो भएन’ तिमिल्सिनाले भने ।
राजनीतिज्ञहरुमा आफ्ना बानी सुधार नगर्ने, तर नियम–कानुनलाई दोष दिने गरेको भन्दै उनले भने, ‘परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँँ पुग्छौँ ?’