बिपीको संगतले १६ वर्षमा राजनीति प्रवेश, ७८ वर्षमा राष्ट्रपति
प्रधानमन्त्रीमा १७ पटक हार, १८ औँ प्रयासमा राष्ट्रपति
काठमाडौँ । देशले तेस्रो राष्ट्रपति पाएको छ । कांग्रेस, माओवादीसहित ९ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेल १० दलकाे भाेट पाएर राष्ट्रपतिमा विजयी भएका छन् ।
उनी ३३ हजार ८ सय २ मतभारका साथ राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् । बिहीबार बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको मतदानमा देशभरबाट प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले मत दिए ।
१३ फागुनमा राष्ट्रपतिमा पाैडेलले उम्मेदवारी दर्ता गरेका थिए । पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका थिए । समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे थिए ।
पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । पछि उनलाई नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसमेत गरी १० दलले भाेट दिएका छन् ।
याे पनि पराजयदेखि नडगमगाएका पौडेल
यसअघि पटक पटक कांग्रेस सरकारमा पुग्दा पनि सभापति शेरबहादुर देउवाले पौडेललाई अवसर नदिएको भन्दै पाैडेल पक्षका नेताहरूले कांग्रेसमा आवाज उठाउने गरेका थिए । तर यो पटक भने देउवाले अवसर दिए ।
यसअघि १८ फागुनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफूमाथि लागेको आरोप हटेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताएका थिए ।
उनले भनेका थिए, ‘रामचन्द्रजीलाई मैले कुनै भूमिका नदिएकाे भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौँ’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिलेदेखिको मेरो साथी हो ।’
संविधानको धारा ६३ ले राष्ट्रपतिको पदावधि पाँच वर्ष तोकेको छ । उनको कार्यकाल अब पाँच वर्षको हुने छ । २०७२ साल कात्तीक ११ गते राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीकाे पहिलाे पहिलो झण्डै २ वर्ष ४ महिनाकाे रहेकाे थियाे । नयाँ संविधान जारी भएपछि नेपालमा भएकाे पहिलाे निर्वाचनपछि भने उनले पूर्ण ५ वर्ष नै राष्ट्रपति बनेर कार्यकाल पूरा गरिन् । २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा भण्डारी निर्वाचित भएकी थिइन् । उनको पदावधि यही फागुन २८ गते सकिँदै छ । उनी पहिलो कार्यकालमा एमालेको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालमा भने दुई तिहाइको नेकपाको साथ उनलाई थियो । २०६५ असार २९ गते नेपाली जनताको तर्फबाट डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति निर्वाचित भएका थिए । उनको कार्यकाल २०७२ कार्तिक ११ गते समापन भएको थियो । यादवलाई नेपाली कांग्रेस पार्टीले राष्ट्रपतिकाे उम्मेदवार बनाएकाे थियाे ।
याे पनि संविधानले खोजेको राष्ट्रपति कस्तो ?
यस्तो छ पौडेलको राजनीतिक जीवन
त्रिभुवन विश्वविद्यालयबाट नेपाली वियमामा स्नातकोत्तर गरेका पौडेलले संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनका श्रीमती सविता पौडेल र पाँच सन्तान छन् ।
०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरेका पौडेल विसं २००१ साल असोजमा तनहुँको रित्ती गाविसस्थित बाहुन पोखरामा जन्मिएका हुन् । आमनिर्वाचनमा ६ पटक तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेलले २०१९ देखि २०४६ सम्म विभिन्न वर्षहरूमा १५ वर्ष जेल जीवन बिताएको इतिहास छ ।
बिपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि त्यति बेला १६ वर्षका युवा राजनीतिमा छिरेका थिए । बिपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गर्ने मैका पाएका पौडेलले त्यसपछि निरन्तर काँग्रेस पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेका थिए । सुशील कोइरालाको मृत्यु भए पनि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका बनेका पौडेल त्यसअघि र त्यसयताको कांग्रेस महाधिवेशनमा कहिले पनि सभापति बन्न पाएका छैनन् ।
उनी ०१८ को सशस्त्र क्रान्तिमा सहभागी थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनमा एक अभियन्ताका रूपमा काम गरेका पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति भएका थिए ।
०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बने । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनमा संस्थापक केन्द्रीय सदस्य बने । त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा काम गर्दै आएका छन् ।
हाल उनी नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेताका रूपमा रही आएका छन् । ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकास मन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट सांसदमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाले ।
०६२ सालमा कांग्रेस महामन्त्री भएका पाैडेल ०६३ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री समेत भएका थिए । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौँ पटक निर्वाचित छ । २०७४ काे संसदीय निर्वाचनमा पराजित पाैडेल २०७९ मा तनहुँ १ बाट सांसद निर्वाचित भएका थिए । पौडेलले राष्ट्रपति बनेपछि अब उनकाे सांसद पद रिक्त भएकाे छ । उक्त क्षेत्रमा अब उपनिर्वाचन हुने भएकाे छ ।