केही दिनमा समाजवादी मोर्चा बन्छ, फेरि शक्तिशाली कम्युनिष्ट केन्द्र बन्छ : प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए ।
“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन” प्रधानमन्त्रीले भने, “शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ।”
प्रधानमन्त्री भन्छन्, “माओवादी धाराका कम्युनिस्ट घटकहरूबिच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मेलन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।” “संसारमा एक पटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ” उनले भने ।
“समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ” प्रधानमन्त्रीले भने, “एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ।” “एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरुद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्” प्रधानमन्त्रीले भने, “तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो। माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ।” प्रधानमन्त्रीले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।