नामकरणविरुद्ध ‘कोशी’ प्रदेशमा बन्द, कस्तो छ प्रभाव ?
काठमाडौँ । प्रदेश नामकरणको विरोधमा आह्वान गरिएको कोशी प्रदेशमा बन्दको आंशिक प्रभाव देखिएको छ । केही राजनैतिक दल र विभिन्न जातीय संस्थाले आजका लागि आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको हो ।
जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्था बन्दको पक्षमा छन् । ति पार्टी र संस्थाका कार्यकर्ताहरू बिहानैदेखि बजारबन्द र यातायातका साधन बन्द गराउँदै हिँडेका छन् । बन्दको पुरै प्रभाव नदेखिएपनि जनजीवन भने प्रभावित भएको छ ।
कोशी प्रदेशका मुख्य बजार धरान, इटहरी, बेलबारी, पथरी, उर्लाबारी, दमक, बिर्तामोड, फिदिमलगायतको जनजीवन प्रभावित बनेको छ । बजार खुलेपनि सडकमा कम सवारी चलेका छन् । प्रदेश १ को नाम जबरजस्ती कोशी प्रदेश राखेर पहिचानको आन्दोलनलाई बेवास्ता गरेकाले आन्दोलन गर्नु परेको जसपाका केन्द्रीय सदस्य भीम राईको भनाई छ ।