नेपाली सेनाले बनायो ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’

विराटनगर । नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले सङ्ग्रहालय भवनको चाबी महानगरलाई हस्तान्तरण गरेका हुन् ।

दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको सङ्ग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । सङ्ग्रहालय निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेकोमा नेपाली सेनाको कामको प्रशंसा गरे ।

संग्रहालयको संरक्षणका लागि स्थानीयवासीको साथ सहयोग आवश्यक हुने नेपालीले सेनाले जनाएको छ।

दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण महानगरपालिकाले गर्ने मेयर कोइरालाले बताए । चालु आर्थिक वर्षमा विराट राजाको दरबार क्षेत्रको विकासका लागि १ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै कोइरालाले बजेटले घेरा बारा लगायतका संरचना निर्माण गरिने बताए । नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वर्द्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागतमा संग्रहालयको काम सुरु गरेको थियो ।

सैनिकहरूको श्रमदानमा एक कट्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरेको हो । सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुँडा, सामग्री एवं मुद्राहरू राखिएका छन् । महाभारत कालीन पुरातात्त्विक वस्तु तथा सामाग्रीको संरक्षणको लागि सङ्ग्रहालयमा ती सामाग्री सङ्गृहीत गरिने बताइएको छ । महाभारत कालमा आठ बिघा तीन कट्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्स्य देशको नामले चिनिने गरेको पाइएको किंवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरूको श्रीमती द्रोपदी गुप्तबासको दौरानमा नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको किंवदन्ती छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।

विसं २०२७ सालमा नेपाल सरकारको पुरातत्त्व विभागले यस स्थानमा उत्खनन गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपछि यो क्षेत्र प्राचीन महाभारतकलामा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो । नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले ऐतिहासिक सङ्ग्रहालय स्थानीय जनताको सम्पत्ति भएको बताए । संग्रहालयको स्थानीयले नै संरक्षण सम्वर्द्धन गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत सङ्ग्रहालय निर्माण गरेको जानकारी दिँदै यसको संरक्षणको दायित्व स्थानीयको हुने बताए । कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महानगरका उपप्रमुख शिल्पा निराला कार्की, भैरव गणका गणपति अमृतबहादुर थापामगर, वडा नं. १८ का अध्यक्ष जितेन्द्रकुमार साह लगायत कार्यक्रममा सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *