उद्योग सङ्गठन भन्छ– ‘मन्दीको असर देखियो, उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आयो’

विराटनगर । लामो समयदेखि मुलुकको अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको मन्दीले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको उद्योग संगठन मोरङले बताइएको छ। संगठनले एक प्रेस वक्तव्य जारी गर्दै बजारमा व्याप्त आर्थिक शिथिलताका कारण बजार मागमा कमी आएको, बाँकी वक्यौता उठ्न कठिनाइ भएको तथा उद्योगी व्यवसायीलाई वित्तीय व्यवस्थापनमा कठिनाइ भई उद्योगी व्यवसायीहरूलाई आफ्ना कलकारखाना बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा ल्याईपुर्याएको बताएको हो ।

‘समग्र अर्थतन्त्रका सूचकांकहरु लगातार ऋणात्मक भइरहँदा एवं निजी क्षेत्रले उद्योग व्यवसाय क्षेत्रमा गरेको ठुलो लगानी जोखिम उन्मुख भइरहँदा समेत सरकारको ध्यान अर्थतन्त्रको व्यवस्थापनमा भन्दा पनि बढी राजनीतिक विषयमा मात्रै केन्द्रित हुनु दुःखद भएको हाम्रो ठहर छ, विज्ञप्तिमा भनिएको छ, उपयुक्त विधि, नीति तथा प्रक्रियाबाट अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन अहोरात्र काम गर्नुपर्ने यस क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने अर्थ तथा उद्योग मन्त्रालय नै नेतृत्व विहीन अवस्थामा राखिनुले उद्योगी व्यवसायीका समस्या एवं समग्र अर्थतन्त्रको समस्या प्रति सरकार संवेदनशील नभएको प्रष्ट हुन्छ ।’

विगतको संक्रमणकालीन अवस्था पश्चात भएको राजनीतिक व्यवस्थापनसँगै देशको आर्थिक एवं औद्योगिक विकासका सन्दर्भमा साझा आर्थिक एजेन्डा तय भई अर्थतन्त्रले गतिलिने उद्योगी व्यवसायी र आम सर्वसाधारणको चाहनाको सम्बोधनमा नेतृत्व वर्गले सदैव नजरअन्दाज गरिदा सबैलाई चिन्तित बनाएको संगठनका अध्यक्ष सुयेश प्याकुरेलले बताए । राजनैतिक प्रकृतिका समस्याहरूको समाधानमा रातारात बैठक छलफल गरी सहमति जुटाउने र निकास निकाल्ने उच्च राजनैतिक नेतृत्वले अर्थतन्त्रका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न समेत यही प्रकृतिको तत्परताका साथ समाधान खोज्न विज्ञप्तिमा अपिल गरिएको छ।

‘राजनीतिक र आर्थिक व्यवस्थापनको समानान्तर विकासले मात्र समृद्ध राष्ट्र निर्माण हुने यर्थाथलाई आत्मसात गरी अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा देखिएको विद्यमान भयावह स्थितिलाई नजरअन्दाज नगर्नतथा समग्र अर्थतन्त्र शिथिल भएको यो यथार्थलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको, तरलता अभाव, ब्याजदर वृद्धि, बजार मागमा कमी मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्य वृद्धि, कच्चा पदार्थ एवं इन्धनको मूल्य वृद्धिको चाप समेत प्रत्यक्ष रुपमा उत्पादन लागतमा परेको कारणले अहिलेको यो समस्याको प्रकृति जटिल छ ।’

सामान्य प्रकृतिको टालटुले समाधानले अहिलेको आर्थिक समस्याबाट निकास नदिने व्यवसायीको भनाई छ। दिगो समाधानका लागि निजी क्षेत्रलाई समेत साथमा लिई यथाशक्य उचित कदम चाल्न उद्योग सङ्गठन मोरङ नेपाल सरकार तथा सरोकारवाला सम्बन्धित सबैमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *