मिल्स गोल्डकप : सहलेस युवा क्लब सेमिफाइनलमा
विराटनगर । सहलेस युवा क्लब सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको खेलमा साइनो स्पोर्टस क्लब रानी विराटनगरलाई सडनडेथमा ६–५ गोलले हराउँदै सहलेस युवा क्लब सिरहा सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा धकेलिएको थियो । जितको लागि सिराहाका यानिक, नविन न्यौपाने, डेनियल, स्यानगियो,निश्चल ठाकुरी र दिपसन राईले गोल गरेका थिए । सिरहाका निश्चल लामाको प्रहार साइनोका गोलकिपर प्रज्वल श्रेष्ठले उत्कृष्ट बचाए । फोफोनाको प्रहार बाहिरियो ।
साइनको तर्फबाट असिम राई,सञ्जय धिमाल, सागर खड्का, कोमल खवास र सुमन मगरले गोल गरेका थिए । साइनको सागर विक, दोर्जे तामाङ्ग र दिवेश मगरको प्रहार सिरहाका गोलकिपर सागर मगरले उत्कृष्ट सेभ गरिदिएर टिमलाई सेमिफाइनलमा पु-याए । उनै गोलकिपर मगर खेलको म्यान अफ द म्याच घोषित भए ।
घरेलु दर्शकको साथ पाएको साइनोले खेल सुरु भएको एक मिनेटमै सञ्जय धिमालले गोल गरे । खेल सुरू भएको एक मिनेटमै गोल भएपछि सिराहा दबाब परेको थियो ।
पहिलो गोल खाएपछि सिरहाले आक्रामक शैली अपनाएको १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल गरेपछि खेल बराबरीमा ल्याए । सिराहाका सुदिप मगरले निकालिदिएको क्रस पासलाई यानिकले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको सिराहाले पहिलो हाफमा यानिकले आधा दर्जन गोल गर्ने अवसर चुकाए । ३८ औं मिनेटमा पेनाल्टी एरियादेखि यानिकको प्रहार बाहिँदा पहिलो हाफमा दोब्बर पार्ने अवसर गुमाएको थियो ।
दोस्रो हाफदेखि सिराहाले आक्रामक खेल पस्कियो । अन्त्यतिर सिराहाका यानिकले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि जित हात पार्न सडनडेथ कुर्नुपर्याे । आजको खेल गाईघाट फुटबल क्लब उदयपुर र विरगंज युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।