एक सफल उद्यमी यामबहादुर, जसलाई नबिल बैंकले सिकायो ‘व्यापार कला’
काठमाडौँ । ‘नेपालमा बसेर प्रगति हुँदैन,’ भन्ने मानसिक राख्ने धेरै नेपाली छन् । यद्यपि एक युवा उद्यमी, जसले यो तथ्यलाई गलत साबित गरिदिएका छन् । उनी हुन् इलामका यामबहादुर कार्की । कृषि उपजको अपार सम्भावना बोकेको पर्यटकीय जिल्ला इलाम माङसेबुङका स्थायी बासिन्दा हुन् यामबहादुर ।
वि.सं. २०६२ सालमा उनले इलाममै आफ्नो स्नातक तहको पूरा गरे । त्यसपछि स्नातकोत्तर (मास्टर डिग्री)को अध्ययन गर्न काठमाडौँ आए । काठमाडौँमा उनले अर्थशास्त्र (इकोनोमिक्स) मुख्य विषय लिएर अध्ययन गरे । अध्ययन पूरा भइसकेपछि शिक्षण पेसा अँगालेका उनले विभिन्न विद्यालय र कलेजमा पढाउन सुरु गरे । शिक्षणमा करिब १२ वर्ष बिताए ।
यसबिचमा जन्मथलो इलाममा उनको आवतजावत भने रोकिएन । यामबहादुर छुट्टीको समयमा घर आउने र छुट्टी सकिएपछि काठमाडौँ फर्किने गर्थे । उनी जति पटक इलाम आउँथे इलाम त्यत्ति नै बदलिएको पाउँथे ।
इलाम झनझन रित्तिँदै थियो । गाउँ झनझन पातलिँदै थियो । गाउँको जमिन बाझिँदै थियो । युवा शक्ति विदेश र सहरमा थिए । गाउँमा केटाकेटी र वृद्धवृद्धा मात्रै रहने थालेका थिएँ । यो सबै देखेर नलाई असाध्यै नरमाइलो लाग्थ्यो । उजाड लाग्थ्यो ।
यस्तै उदासी अनुभव गर्दै गएका उनले एक दिन सोचे– ‘यो बाँझो जमिनलाई उपयोग गर्न सके कृषि उत्पादनले नै इलामलाई आत्मनिर्भर बनाउन सकिने प्रशस्त सम्भावना छ ।’ सहरमा नदेखिएका अनेक सम्भावना उनले गाउँमा देख्न थाले । गाउँका तमाम सम्भावनालाई चटक्कै त्यागेर काठमाडौँ सहरमा एक आम प्राणीका रूपमा दैनिक आहारा र गुजारा खोज्नुभन्दा त गाउँकै सम्भावनालाई व्यवहारमा उतार्नु उचित लाग्न थाल्यो उनलाई ।
‘जन्मिएपछि एक दिन मर्नु त छँदै छ, समाजमा सानोतिनो भए पनि योगदान हुन सक्ने काम किन नगर्ने ?,’ उनी यस्तै प्रश्न आफैँलाई गर्न थाले । प्रश्न गर्दागर्दै उत्तर पनि भेटे ।
उनी भन्छन्– ‘होइन, यसरी त नहुने रहेछ, केही त गर्नै पर्छ । भातै मात्र खाने काम ठुलो होइन । चरा, मुसा जस्तो यसो चारो खोज्न बाहिर गएर आफ्नो पेट पालेर मात्र नहुने रहेछ भन्ने निचोडमा पुगेँ ।’
त्यसपछि यामबहादुर काठमाडौँ छाडेर कृषिमै क्रान्ति ल्याउने दृढ लक्ष्य र संकल्प बोकेर २०७४ सालमा आफ्नो प्यारो जन्मभूमि इलामको मान्सेबुङ फर्किए । त्यसपछि सुरु भयो– कृषिमा अपार सम्भावनाहरूको खोजी ।
अध्ययन गर्दै जाँदा उनले त्यहाँ पशुपालन व्यवसाय पहिलो उत्तम विकल्प हुने निष्कर्ष निकाले । पशु पालनमा पनि बाख्रा पालन उपयुक्त हुने देखे । त्यसपछि उनले ‘अफ्रिकन बोयर’ जातको बाख्रा पालन सुरु गरे । त्यसबाट उनलाई राम्रै आम्दानी भयो । उनीबारे चर्चापरिचर्चा र प्रचारप्रसार पनि वरपर मज्जैले हुन थाल्यो । अहिले उनको फार्ममा करिब २०० ओटा बाख्रा छन् ।
विस्तारै उनको व्यवसाय मान्सेबुङबाट विस्तार हुँदै तराईका विभिन्न जिल्लामा समेत पुग्न थाल्यो । उनले बाख्राबाट बोयर जातका बोका उत्पादन गरे । बिक्री वितरण गरे । बाख्रा पालनको तौरतरिका र सीप अन्य किसानमा पनि बाँड्न थाले । उनी आफू त व्यवसायी बने नै सँगै अरूलाई पनि व्यवसायी बन्न प्रेरित गर्दै सहयोग गर्न थाले । यसरी उनीसँग किसानको एउटा ठुलो जमात नै तयार भयो । त्यसबेला सम्म उनी पशुपालन उद्यममा स्थापित उद्यमी बनिसकेका थिए । व्यवसायमा स्थापित भए पनि गाउँमा युवा नभएको र श्रमिकका अभाव देखेपछि उनले गाउँमै रोजगारी सृजना हुने गरी जमिनको सदुपयोग गर्ने उपायहरू खोज्न थाले ।
त्यहाँको जमिन कफी उत्पादनका लागि उपयुक्त हुने थाहा पाएपछि उनले विभिन्न कृषि तालिमहरू लिएर ब्याड (बिरुवा) उत्पादन गर्ने नर्सरी स्थापना गरे । गाउँका किसानलाई कफीका बिरुवा वितरण गरेर रोप्न लगाए र आफूले पनि रोपे ।
उनी भन्छन्– खोज्दाखोज्दै उक्त स्थान कफी खेतिका लागि अत्यन्तै उपयुक्त हुने देखियो । विभिन्न कृषि तालिम लिएर मैले ब्याड स्थापना गरेँ र अन्य किसानलाई पनि बाँडेँ ।’
कफी बहुवर्षीय बाली हो, जुन वर्षेनी लगाई रहनु पर्दैन । कफी रोप्दा ३ तह खेतीको फाइदा लिन सकिन्छ । कफीको बोट झाडी आकारको हुने हुँदा त्यसका मुनि मैदानमा भुइँ घाँस प्रजातिका बालीको उत्पादन लिन सकिन्छ । बिचमा कफी उत्पादन हुन्छ । त्यसका माथि अग्ला रुख भएर फल्न फलफूलका उत्पादन गर्न सकिन्छ । यही अपार सम्भावना कफीमा पहिल्याएर उनी कफी उत्पादन र विस्तारमा लागे । अहिले उनले कफी फार्मिङ सुरु गरेको पनि चौथो वर्ष भइसकेको छ ।
यामबहादुरकै प्रेरणा र अगुवाइमा अहिले ३ सय जना किसानले इलामको मान्सेबुङ र गजुरमुखी क्षेत्रमा कफी उत्पादन गर्छन् । मान्सेबुङमा ७० हजार कफीका बोट रोपिएका छन् । यो वर्ष मात्र ३ टन कफी उत्पादन भएको छ । अहिले उक्त क्षेत्रमा किसानको आर्थिक स्तर उकासिएमा उनी कम्ता खुसी छैनन् ।
‘आफू पनि गर्ने र अरूलाई पनि गराउने’ उनको अभियान सफल भएकोमा उनी एकदमै औधी खुसी छन् ।
अभियानलाई सफल बनाउन कृषि ल्यान्ड केन्द्र इलाम र कफी विकास बोर्डले सहयोग गरेको उनी बताउँछन् । यसरी कफी उत्पादन गर्दासम्म उनी एक सफल कृषक कहलिए । तर, सफल व्यापारी भने उनी बन्न सकेका रहेनछन् । यो वास्तविकताको महसुस उनलाई त्यति बेला मात्र भयो, जति बेला उनले नबिल बैंकले सञ्चालन गरेको एक फेलोसिप तालीम पूरा गरे ।
उत्पादनलाई व्यापारको रूप कसरी दिने भन्नेबारे उनलाई सबै बुझे जस्तो लाग्थ्यो । तर, नबिल बैंकको ‘नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसिप’ नामक फेलोसिप कार्यक्रममा सहभागी भएपछि उनलाई धेरै विषय जान्ने, बुझ्ने र आफूमा निखार ल्याउने अवसर मिल्यो ।
नबिलको फेलोसिप प्रोग्राममा उनी कसरी जोडिए त ? यसको कथा पनि बेग्लै छ । उनी भन्छन्– ‘एक दिन मैले मोबाइलमा नबिल बैंकले फेलोसिप तालिमको घोषणा गरेको सूचना फेला पारेँ । अनि नबिलको उक्त घोषणालाई लाइक गरेँ । त्यसपछि उक्त तालिमका लागि एप्लिकेशन भरे, इन्टरभ्यु दिए र छनोट पनि भएँ ।’
त्यसपछि उनी उक्त प्रोग्रामअन्तर्गत फेलोसिप तालिममा सहभागी भए ।
उनी भन्छन्, ‘तालिम लिएपछि थाहा भयो, हामीसँग उत्पादन गर्ने सीप रहेछ तर व्यापारको सीप रहेन छ । वस्तु उत्पादन र व्यापार एकअर्कामा विल्कुल फरक काम र सीप रहेछन् । उत्पादन भएका बस्तुलाई व्यापार बनाउन पनि सिप चाहिँदो रहेछ । कफी उत्पादन गर्दैमा पैसा आइहाल्ने, बाख्रा पाल्दैमा पैसा आइहाल्ने रहेनछ । कामलाई निरन्तरता दिन, किसानको समूहलाई एकत्रित गर्न, गाउँलेलाई पनि आयआजर्नमा थप सरिक बनाउन छुट्टाछुट्टै सीप चाहिने रहेछ । यसअघि मलाई यी कुरा थाहा थिएन ।’
नबिल बैंकको नबिल स्कुल अफ सोसल आन्टरप्रेनर कार्यक्रमअन्तर्गतको तालिमले उनलाई व्यवसाय कसरी गर्ने भनेर सिकायो । उक्त तालिमले सामाजिक उद्यमी हुन प्रेरित गर्यो ।
उक्त तालिम त्रिभुवन विश्वविद्यालय र नबिल स्कुलसँगको सहकार्यमा दिइएको थियो । तालिमका कक्षाहरू पनि त्रिविमै सञ्चालन भएका थिए । बैंकले ६ महिना र ३ महिना गरी दुई प्रकारका फेलोसिप प्रोग्राम चलाएको थियो । उक्त तालिमहरू अहिले सातै वटा प्रदेशमा सञ्चालन भइरहेका छन् । यामबहादुर उक्त तालिमबाट प्रशिक्षित एक प्रतिनिधि पात्र हुन् । उनी जस्ता थुप्रै उद्यमीलाई उक्त तालिमले व्यापारिक सीप प्रदान गरेर सफल बनाएको उनको अनुभव छ ।
६ महिनाको फेलोसिप तालिममा महिनाको ३ दिन मात्र क्लास लिनुपर्ने र अन्य समय ‘असाइन्मेन्ट’ र ‘प्रोजेक्ट’का रूपमा आफ्नै फार्महरुमा काम गर्न सकिने भएकोले सहज पनि भएको उनको अनुभव छ ।
फेलोसिप तालिम छ महिनाको भए पनि तालिममा सहभागीलाई ‘मेन्टर’हरुले एक वर्षसम्म गाइड गरिरहन्छन् । यसले गर्दा उक्त अवधिमा विषयविज्ञसँग व्यवसायको अवस्था, समस्या र समाधानबारेमा छलफल गर्ने प्रशस्त मौका प्राप्त हुन्छ । तालिममा सहभागीहरुले गरेको उत्पादनलाई नबिल बैंकले विभिन्न आयोजना र आफ्नो पहुँच भएका विभिन्न प्रदर्शनीहरूमा समेत समावेश गरेर बजार विकास र विस्तारको अवसर प्रदान गरेको उनले बताए ।
उनी भन्छन्, ‘यसबाहेक पनि नबिल बैंकले सामाजिक उद्यमीलाई बैंकबाट ऋण कसरी लिने, के के डकुमेन्टहरू चाहिन्छ भनेर सबै कुरा सिकाउँछ । सामाजिक उद्यमीको उद्यम विकासलाई असाध्यै समर्थन गर्दछ।’
नबलिको फलोसिप तालिम लिएपछि व्यापार कसरी गर्नुपर्छ ?, व्यापार गर्दा कस्ता कस्ता चुनौतीहरू आउँछन् ?, भनेर पहिल्यै पहिल्याउन सक्ने सक्षम उद्यमी बन्न सकिने उनको अनुभव छ । उक्त तालिम लिएपछि उनलाई व्यापार गर्न निकै सहज भएको बताउँछन् उनी ।
‘हाम्रा स्थानीय उपजलाई बजारमा लगेर किसानको जीवनस्तरमा सुधार ल्याउने र दिगो आर्थिक गतिविधि ल्याउने उक्त तालिमको उद्देश्य हो,’ उनले भने, ‘स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास भइरहेको छ ।’
नबलिको तालिम लिएपछि यामबहादुरले बाख्रा, कफी उद्यममा मात्रै सीमित रहेनन् । गाउँमा किसानले उत्पादन गरेको नौनी घिउ पनि ब्रान्डिङ गरेर काठमाडौँमा बजारीकरण गरिरहेका छन् । साथै अन्य ३, ४ ओटा परियोजनामा काम भइरहेको उनी बताउँछन् । उनले अन्य सामाजिक उद्यमीलाई अध्ययन र सम्भावना हेरेर मात्र व्यवसाय गर्न सल्लाह दिन्छन् । रहरले एकै पटक लाखौँ खर्चेर उद्यम गर्नुभन्दा पहिला केही हजार खर्चेर अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘नेपालमा केही हुँदैन भनेर होइन, सोच–विचार गरेर काम गरे अवश्य सफल भइन्छ ।’
यामबहादुरकै कारण इलाममा कृषि सम्भावना र किसानको आर्थिक स्तर उकासिएको छ । आज उनको कामले मान्सेबुङ गाउँ नै खुसीले गद्गद् भएको छ ।