ठेक्का लिँदै भाग्दै भूमि कन्स्ट्रक्सन
हुलाकी राजमार्ग बनाउने काम तत्काल थाल्न मेयरको दबाब
विराटनगर । विराटनगरमा निर्माण शुरु भएको हुलाकी सडक निर्माणको कामले गति नलिएपछि स्थानीय तहको टाउको दुखाई बनेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर-५ स्थित हुलाकी सडक निर्माण पुरा गर्न पटक पटक छलफल गरे तर आयोजनाले उनलाई साथ नै दिएन ।
उनी स्थानीयलाई लिएर हुलाकी सडक आयोजना कार्यालयमा पुगेर नै छलफल गरे तर पनि निर्माणको कामले गति लिन सकेन । महानगरपालिकामा नै बोलाएर छलफल गर्ने, निर्देशन दिँदा पनि ठेकेदार कम्पनी र हुलालकी सडक आयोजना कार्यालयले काम अघि नबढाउँदा स्थानीय आन्दोलित भएको लामो समय भइसकेको छ ।
निर्माण कम्पनीका प्रतिनिधिलाई मंगलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न मेयर कोइरालाले फेरी निर्देशन दिएका छन् । विराटनगर-५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ किलोमिटर १९५ मिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसँग कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न मेयर कोइरालाले निर्माण कम्पनीलाई आग्रह गरे ।
२०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लगाएको थियो । भूमि कन्स्ट्रक्सन निर्माण कार्य अलपत्र पारेर सम्पर्क विहीन भएपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिए । भूमि कन्स्ट्रक्सन विराटनगरका नाम चलेका व्यापारी अभिनाश बोहराको निर्माण कम्पनी हो । यही कम्पनीले विराटनगरमा निर्माण हुँदै गरेको कोशी अस्पतालको भवन पनि निर्माण शुरु गरेर भागेको छ ।
हुलाकी राजमार्गमा पनि त्यस्तै समस्या देखिएको छ । ठेक्का लिने र काम नगर्ने ठेकेदार कम्पनीको परिपाटीका कारण स्थानीयले सास्ती पाउँदै आएका छन् । समयमा नै निर्माण नगरेको भन्दै हुलाकी राजमार्ग आसपासका स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको निर्माण कम्पनीका साइट इन्चार्ज उमेश निरौलाले गुनासो गरे । उनले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगरका मेयर कोइरालासँग आग्रह गरेका थिए ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इन्जिनियर अर्जुन थापा, निर्माण कम्पनीका इन्जिनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौला सहभागी थिए ।