उपराष्ट्रपति निर्वाचनको तयारी पूरा, शुक्रबार बिहान १० बजेदेखि मतदान
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी पूरा भउको जनाएको हो । मतपत्र, मतदान केन्द्रको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार संसद भवनको ल्होत्से हलमा निर्वाचन हुने छ । मतदानका लागि २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरिने र ४ बजेदेखि मत गणना सुरु गरी साँझ ७ बजेसम्ममा नतिजा घोषणा गरिने कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादाव र प्रमिलाकुमारी यादवको उम्मेदवारी परेको छ । प्रमिलाले भने आफ्नो उम्मेदवारी निष्क्रिय पारेर रामसहायलाई समर्थन गर्ने घोषणा गरिसकेकी छन् ।
त्यस्तै, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीकी ममता झाले पनि उम्मेद्वारी दिएकी छन् । झाको पक्षमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी रहेका छ ।
त्यस्तै विपक्षी दलबाट नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ ।
निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेश सभाका ५५० सांसद मतदाता रहेका छन् ।