उपराष्ट्रपति बने ऐतिहासिक नगरीका एक शिक्षक रामसहाय
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव विजयी भएका छन् । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै यादव नेपालको तेस्रो उपराष्ट्रपति बनेका हुन् ।
शुक्रबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार यादवले प्रदेशसभातर्फबाट १८४ सांसदबाट १४,५३६ मतभार पाएका छन् । त्यस्तै, त्यस्तै, संघीय संसदतर्फ ३२९ सांसदबाट १५,७९२ मतभार पाएका छन् । यादवले कुल ३० हजार ३२८ मतभार पाएका छन् ।
उनी बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । उनले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहकलाई हराएर प्रतिनिधिसभामा विजयी भएका थिए ।
ठुलो गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार रहेका उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीले मतदान गरेका थिए ।
को हुन् यादव ?
उपराष्ट्रपतिमा विजयी यादव २०२७ सालमा साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । अहिले उक्त क्षेत्र ऐतिहासिक तथा पूरातात्विक महत्ववको क्षेत्रसमेत रहेको सिम्राैनगढ नगरपालिकामा पर्दछ । उक्त नगरपालिका भारतकाे सीमा क्षेत्रमा पर्दछ । ५२ वर्षीय यादवका का दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती दुई छोरा र एक छोरी छन् ।
उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए ।
मधेस आन्दोलनका क्रममा दरिलो पहिचान बनाएका उनी राजनीतिक जीवनअघि बाराको कलैयामा २३ वर्षसम्म शिक्षण पेशामा समर्पित भए । बारा कलैयामा अवस्थित श्री पन्ना देवी कन्या माविमा उनी विज्ञान र गणित विषयको शिक्षक थिए ।
भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेशका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उनी २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।
सद्भावनाका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सदभावना पार्टी विभाजनको विरोधमा आनन्दी देवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्ने यादव पहिलो नेता थिए । राजनीतिका क्रममा उनको भेट उपेन्द्र यादवसँग भएपछि उनी २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका हुन् । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भए ।
विसं २०६५ मा उहाँ पार्टी महासचिव भए । यादव स्वच्छ तथा इमान्दार छविका नेता मानिन्छन् । उनी विसं २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए ।
विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका उनी हाल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेताको भूमिकामा समेत छन् ।
पार्टी तथा सरकारको प्रतिनिधि भई उनले हालसम्म संयुक्त राज्य अमेरिका, पोल्याण्ड, चीन, संयुक्त अधिराज्य, बेल्जियम, युएई (संयुक्त अरब इमिरेट्स)लगायत देशको भ्रमण गरिसकेका छन् ।