कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं । आज(आइतबार) बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । बिहान १० बजे कार्य सम्पादन समितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेबारे छलफल हुने भएको छ । नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएर नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने भएको हो ।
त्यस्तै आजै कांग्रेसको संसदीय दलको बैठक पनि बस्न लागेको छ । संसदीय दलको बैठक भने मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने कार्यक्रम छ ।
आजै दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्ता पक्ष र नेकपा एमाले प्रतिपक्षी दलको बेञ्चमा बस्ने तयारी भएको छ ।
१७ फागुनमा बोलाइएको प्रतिनिधि सभाको बैठकमा दुबै दलले आफू प्रतिपक्षीको बेञ्चमा बस्ने दाबी गरेपछि बैठक आजसम्मका लागि सूचना टाँसेर सारिएको थियो ।