सुपारीको पातको मूल्य ३ रुपैयाँ

मौलिक ‘दुना-टपरी’ बनाउने युवा उद्यमीको कथा

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ बेल्टारका बस्तीहरूमा प्रशस्त सुपारी देखिन्छ । कोही सुपारी टिप्दै, कोही सुपारीको पातहरू मिलाउँदै छन् । अहिलेदेखि नै झर्दै गरेको सुपारीको पत्ता संकलन गर्ने किसानहरू पनि त्यसै गरी लागेको देखिन्छ ।

वरिपरिको सुपारी खेतीको बिच गाउँमा एउटा उद्योग छ, त्यहाँ पनि सुपारीका पत्ताहरू थुपारिएका छन् । उद्योगको बाहिरी भागमा प्रशस्त सुपारीका सुकेका पातहरू राखिएका छन् भने भित्री भागमा सफा पारिएका सुकेका पत्ता देखिन्छन् । अर्को कोठामा सफा पोका पारेर राखिएका तिनै सुपारीबाट बनेका टपरी (प्लेट) दुना (कचौरा) अनि त्यसैका चम्चा पनि राखिएका छन् । त्यही सुपारीको पातको काममा थिए दीपक ढुङ्गाना । उनी व्यावसायिक रूपमा सुपारीको पातबाट दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न थालेको एक वर्ष नाघ्यो ।

ईनर्जी क्रप्स (दुना-टपरी उद्योग) सञ्चालन गर्दै आएका ढुङ्गाना यहाँको उत्पादन विदेश निर्यात गर्ने दाउमा छन् । उमेरले ४३ वर्षीय ढुङ्गानासँगै यो उद्योग सञ्चालन गर्ने ४० देखि ५० वर्ष उमेर समूहका १० जना सदस्य छन् । यो उद्योग १० जनाले १ करोड लगानीमा शुरु गरेका हुन् । एक वर्ष पहिलादेखि व्यावसायिक रूपमा दुना टपरी उद्योग सञ्चालन गरेका ढुङ्गानाले अघिल्लो शुरुको एक वर्षमा ९० हजार सुपारीको पत्ता संकलन गरेको बताए । ‘शुरुको वर्ष भएको कारण भौतिक संरचना व्यवस्थापन गर्ने र बनाउने काममा व्यस्त भएँ,’ उनले भने, ‘शुरुको वर्ष संरचना बनाउने कामले धेरै संकलन गर्न सकिएन ।’

उनले यो वर्ष ६ लाख सुपारीको पत्ता संकलन गर्ने योजना रहेको सुनाए । ‘पात संकलन गर्ने अबको ३ महिना समय छ,’ ढुङ्गानाले भने, ‘अहिलेसम्म करिब ९० हजार पत्ता संकलन गरिसकेको छु । यो वर्ष ६ लाख पत्ता संकलन गर्ने योजना रहेको छ ।’ यस उद्योगले सुपारीको पत्ता संकलन गर्ने किसानहरूलाई समेत संकलन गरे बापतका रकम दिने गरेको छ ।

सुपारीको पत्ता संकलनको लागि उद्योग सञ्चालकहरू बारीमा आफैँ गएर संकलन गर्दा किसानले प्रति पत्ता एक रुपैयाँ पाउने गर्छन् । यदि किसानले संकलन गरिदिएको छ भने प्रति पत्ता दुई रुपैयाँ दिने गरिएका ढुङ्गाना बताउँछन् । ‘किसानले संकलन गरेको पत्तालाई हामीले प्रति पत्ता २ रुपैयाँ दिने गरेका छौँ,’ उनले भने, ‘हजारदेखि माथि संकलन गरेर किसानहरूले राखिदिनु भएको छ भने एउटा पत्ताको ३ रुपैयाँ भन्दा बढी दिने गरिएको छ ।’

यसरी बन्छ दुना टपरी
दुना टपरी बनाउनको लागि शुरुमा कच्चा पदार्थको रूपमा सुपारीको पात संकलन गर्ने गरिन्छ । सुपारीको पत्ता संकलन गर्ने क्रममा हरियो पत्ता परेको छ भने त्यसको चिसोपना सुकाउनको लागि सुकाउने गरिन्छ । सुकेको पत्ताहरू भण्डारण हुन्छ । त्यसपछि पत्ताको फोहोरलाई सफा बनाउने काम शुरु हुन्छ ।

‘उद्योगले नजिकै पानीको व्यवस्थापन गरेको पानीमा धुने काम हुन्छ । ट्याङकीमा करिब २५ देखि ३० मिनेट पानीमा ढड्याउने काम हुन्छ,’ उनी भन्छन्, ‘नरम भएपछि त्यहाँ सफा गरिन्छ, त्यसपछि फेरी २५ देखि ३० मिनेट सुकाउन समय लाग्छ ।’ त्यसको आधारमा उद्योगमा यसको प्याकिङ गर्ने र आवश्यकताको आधारमा टपरी, दुना तथा चम्चा बनाउने काम हुने ढुङ्गानाको भनाई छ ।

ढुङ्गानाका अनुसार यो एक वर्ष सिकाई मात्र भएको छ, यो दोस्रो वर्षमा प्रवेश गरेकोले आगामी दिनमा यसको बजारी करणलाई प्रभावकारी बनाउने योजना छ । नेपालमा मौलिक दुना टपरीको राम्रो माग रहेको उनले सुनाए । अहिले बजारमा प्लास्टिकका सामानले बजार लिइरहेको बेलामा प्लास्टिकको विकल्पको रूपमा सुपारीका दुना टपरी आएको उनले बताए । एउटा पत्ताबाट साना साइजको ३ वटा र ठुला साइजका पत्ताको ५ वटासम्म प्लेट अर्थात् टपरी बन्ने गरेको उनको अनुभव छ । झापामा यस्ता दुना टपरी उद्योग ३ वटा रहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *