गाँजा नियन्त्रण गर्ने प्रहरी अधिकृत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै उनीहरुलाई सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
प्रहरी सहायक निरीक्षक बाग्लेले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी–६ बाट अवैध लागु औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी–८ बाट को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेको कारण उत्कृष्ट भएको प्रदेश प्रहरी कार्यालयले जनाएकोछ।
प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका–५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका–२ मा नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी हत्यागरि बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भएको भन्दै दाहाललाई उत्कृष्ट घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।