जनताको मुख थुनेर निरंकुश तानाशाह बन्न खाेज्दैछन् प्रचण्ड ?

काठमाडौँ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा जाँदै थिए । ती युवाले प्रचण्डलाई भेट्न दिन प्रहरीसँग अनुरोध गरे । तर, प्रहरीले उनीहरुको कुरा सुनेन । उल्टै पक्राउ गर्न तम्सियो । प्रहरीको व्यवहारपछि ती युवाले कार्यक्रम स्थल नजिकै नारावाजी गरे ।

‘महँगी नियन्त्रण गर, बैंकको ब्याजदर घटा नियन्त्रण गरे, आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाए । तीन युवाले प्रचण्डविरुद्ध आवाज मात्रै के निकालेका थिए नेपाल प्रहरीले शाही शासनको झल्को देखाइहाल्यो ।

नागरिकको बोलीमाथि ताला लगाउन राज्य प्रशासनबाट आदेश उर्दी नै जारी भएको व्यवहार प्रहरीले देखायो । प्रहरीले ती युवाको मुखै थुनिदियो । प्रचण्डविरुद्ध बोलेका युवाको मुख थुन्दै प्रहरीले यसरी कब्जामा लियो कि मानौँ यो देशमा शासकका कर्तुतबारे बोल्नै संविधानले नै बन्देज गरेको छ । शासकबारे बोल्न पूरै बन्देज छ ।

मानौँ, शासकका कर्तुतबारे बोल्नेलाई ‘घोक्रो समातेर, हात बाँधेर, चरम यातना दिई जेल चलान गर्नू’ भनेर तत्कालीन श्री ३ सरकारबाट हुकुम भएको होस् ।

प्रचण्डले नेतृत्व गरेर ल्याएको गणतन्त्र र लोकतन्त्र भनेको के हो ? आम नागरिकका हक अधिकारलाई राज्य प्रशासकद्वारा कुण्ठित गर्नु हो ? वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गर्नु हो ? जनताको आवाज दबाएर निरंकुश शासन लाद्नु हो ?

होइन भने, बानेश्वरमा देखिएको दृश्य लोकतन्त्रविरुद्ध छ । संविधानविरुद्ध छ । नागरिक हकविरुद्ध छ । अधिकारविरुद्ध छ । विचार र अभिव्यक्तिको स्वतन्त्रताविरुद्ध छ ।

यसरी नागरिक अधिकारलाई सरकारले खोस्न र कुण्ठित गर्न खोज्यो भने परिणाम फरक मात्र हुँदैन । ज्ञानेन्द्रलाई गद्दीबाट गलाउने नागरिकले प्रचण्ड सरकारविरुद्ध बालुवाटार नघेर्लान् भन्न सकिन्न ।

प्रचण्ड सरकारकाे उक्त हर्कतविरुद्ध यतिबेला चोक–गल्ली र खेल मैदान मात्रै होइन, सामाजिक सञ्जालदेखि सदनसम्म आवाज उठ्न थालेको छ ।

मंगलबार घटना भएलगत्तै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रचण्ड नेतृत्वको सरकारका प्रहरीद्वारा भएको उक्त घटनाप्रति आपत्ति जनाएका छन् । बहालवाला प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदा वा पुत्ला जलाएर विरोध गर्दैमा यसअघिका कुनै पनि सरकारले कसैलाई पनि पक्राउ गरेर मुद्दा चलाएको थिएन । तर, प्रहरीले ती तीन युवाविरुद्ध अदालतबाट म्याद लिएर हिरासतमा राख्दै मुद्दा चलाइसकेको छ । र, निरंकुश राणा शासनको झल्को दिने यो घटनाको चौतर्फी आलोचनासमेत सुरु भइसकेको छ । सडकदेखि सदनसम्म यो विषय उठ्न थालेको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा डा. विमला पौड्याल राईले प्रहरीले ३ युवाको मुख थुनेर घाँटी न्याकी लछारपछार पारेकोबारे सरकारसँग जवाफ मागेकी छन् ।

उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीले जबरजस्ती उनीहरुको मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी छन् ।

संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने, बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उनले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभाको बैठक बुधबार भएको भए त्यहाँ पनि यसबारे सांसदहरूले कुरा उठाउने निश्चित जस्तै थियो । आगामी प्रतिनिधि सभा बैठकमा यसबारे कुरा उठ्ने निश्चित नै छ ।

शासन सत्ता सञ्चालन गर्नेको विरोध गर्नै नपाउने वा समर्थन गरेर भजन मात्रै गाउनु पर्ने व्यवस्था लोकतन्त्रमा हुँदैन । गणतन्त्रमा हुँदैन । प्रजातन्त्रमा पनि हुँदैन । बहुदलीय संसदीय व्यवस्था भएको संघीय गणतन्त्रात्मक लोकतन्त्रमा त हुँदै हुँदैन । त्यस्तो व्यवस्था त एकतन्त्रीय निरंकुश शासन व्यवस्थामा मात्रै हुन्छ । तानाशाही व्यवस्थामा मात्रै हुन्छ । गणतन्त्रका लागि संघर्ष गरेको दाबी गरिरहने, आफ्नै कारण देशमा गणतन्त्र आएको दाबी गरिरहने र ११ दलको विश्वासको मत पाएर प्रधानमन्त्री पदमा विराजमान प्रचण्ड के यो देशमा आफ्नै नेतृत्वमा तानाशाही व्यवस्था लाद्न खोज्दै छन् ? त्यसो हो भने आम नेपाली नागरिकलाई कदापि स्वीकार्य हुँदैन । हिजोका बादशाह जस्तै प्रचण्डलाई पनि आम नागरिकले घोडाबाट खसाल्ने छन् । कुर्सीबाट पछार्नेछन् ।  २ वर्ष प्रधानमन्त्री बन्ने भन्दै सत्तारोहण गरेका प्रचण्डलाई २ महिनामै आम जनताले सत्ताच्युत गराउने निश्चित छ ।

यदि उनी तानाशाही बन्ने बाटोमा छैनन् भने देशको अव्यवस्था र अविकासबाट प्रताडित, निराश–हतास ती युवाले ओकलेको आक्रोशको आगोलाई नम्र भाषामा मत्थर पार्ने कौशल प्रचण्डले देखाउनै पर्छ । ती युवामाथि लगाउन थालिएको मुद्दा उनले फिर्ता लिन लगाउनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *