जनतालाई नतर्साउन प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले जनता तर्साउने काम बन्द गर्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका छन् । उनले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्नेसमेत बताए ।

‘प्रधानमन्त्री डराउनुपर्ने बेला आएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भनेर सोच्नुपर्छ । प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु भनेको जनतामा नैराश्यताका कारण हो ।’

उनले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको र काम नगर्ने छुट पनि नभएको बताएका छन् ।

‘म साँच्चिकै डराएको छु,’ उनले भने, ‘मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् ।’

कुर्सीमा बसेको प्रधानमन्त्री नै डराउनपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको उनले बताए ।

‘मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने भनेर डराउनुस्,’ उनले भने, ‘प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।

‘प्रधानमन्त्रीले दायाँ रहेपनि भोट, बायाँ रहे पनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ,’ उनले भने, ‘हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निराश भएको देखेको थिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *