चितवन-२ : कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार नबन्ने
काठमाडौँ । चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसबाट उमेश श्रेष्ठ उम्मेदवार नबन्ने भएका छन् । १० वैशाखका लागि तय गरिएको उपनिर्वाचनमा आफू नउठ्ने श्रेष्ठले बताएका हुन् ।
श्रेष्ठ ४ मंसिरको निर्वाचनका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । मकालुखबरसँग कुरा गर्दै उनले आफू अब राजनीतिमै रहेर समाजसेवामा लाग्ने बताए ।
‘म यो उपनिर्वाचनमा उठ्दिनँ, समाजसेवामा लाग्छु । म अरूलाई पालो दिने पक्षमा छु । पहिलादेखि नै पार्टीमा धेरै दुःख गएर आएको मान्छे हुँ,’ उनले भने, ‘यो पटक मलाई रहर नै छैन । मैले यो कुरा पार्टीमा समेत राखेको छु । त्यहाँ पार्टीले नयाँ मान्छे उठाउने कुरा छ ।’
नेता श्रेष्ठले चुनाव हार्छु भन्ने डरले उम्मेदवार बन्नबाट पछि नसरेकाे दाबी गरे ।
‘पार्टीले मलाई उठ्नुस् भनेकै हो, तर मेरो मुड छैन,’ उनले भने । त्यहाँ रास्वपाको तर्फबाट रवि लामिछाने नै नै उम्मेदवार बन्ने निश्चित भए पनि कांग्रेस र एमालेले भन्ने टुंगो लगाएका छैनन् ।