माओवादी प्रदेश सचिव भन्छन् : ‘पहिचान पक्षधरकाे दुईतिहाइ नहुँदा कोशी प्रदेश नाम आयो’

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य गणेश उप्रेतीले नामकरण अहिलेको जनमतको आधारमा भएको बताएका छन् । अहिलेको अवस्थामा नागरिकले दिएको मतको आधारमा प्रदेशले नाम पाएको बताएका हुन् । मकालुखबरसँग कुराकानी गर्दै उप्रेतीले नेकपा माओवादी पार्टीलाई दुईतिहाइ नदिएपछि कोशी नाम राखिएको बताएका हुन् ।

‘हाम्रो आधिकारिक लाइन किराँत हो, उनले भने, हामीले किराँत प्रस्ताव राख्दा पनि स्वीकार हुन सक्ने अवस्था थिएन त्यसैले कोशीलाई नै पारित गर्यौँ । पारित नहुने भएपछि नाम किन अड्काउने ? ’ प्रदेशको नाम दिने भनेर कोशी प्रदेश नामकरण भएको बताएका छन् । संसदीय व्यवस्थामा बहुमतले राजनीति गर्ने भएकोले यसमा हल्ला गरेर, कराएर, रोएर नहुने उनको भनाइ छ।

‘बहुमतले राजनीति गर्ने, विधेयकहरू पास गर्ने, नाम राख्ने, बजेट पास गर्ने, सरकार चलाउने संसदीय व्यवस्था हो,’ उनले भने, ‘सडकमा मात्र हल्ला गरेर आन्दोलन गरेर त हुँदैन नि, सडकमा त हिजो माओवादीले जति पहिचानको पक्षमा को बोल्यो ? हामीले त पहिचानको पक्षमा रगत, पसिना बगाएका छौँ ।’

पहिचानको पक्षमा लडेको बेला एक शब्द नबोली न्यानो मानेर पहिचानको विरुद्धमा लाग्नेहरूसँग बसेकाहरू अहिले आएर माओवादी संसदीय दलका नेतालाई ढुङ्गा हान्ने माओवादी नेताहरूलाई गाली गर्ने गतिविधि ठिक नभएको उप्रेतीले बताए ।

‘यो त उहाँहरूको राजनीतिक चरित्र नै भएन,’ उप्रेतीले भने, ‘उहाँहरूलाई पहिचानप्रति दयामाया थियो भनेँ त उहाँहरूले अस्ति भोट हालेर माओवादीलाई ठुलो पार्टी बनाउनु पर्थ्यो नि ।’

उनले अहिले आन्दोलनरत पहिचानवादीहरूलाई नक्कली पहिचानवादी भनेका छन् । ती अहिले पहिचानवादी भन्नेहरू नक्कली पहिचानवादी भएको बताएका छन् । अनि माओवादीलाई पहिचान विरोधी भनेर माओवादीलाई सडकमा गाली गर्ने कुराई उनले उल्टो कुरा भएको बताएका छन् ।

‘अहिले पनि हामीले पहिचान छाडेका छैनौँ, हामी माओवादी पार्टीमा रहेका १३ जना सांसदले पहिचान सहितको नाम दर्ता गर्दै खेरी पनि अस्वीकृत हुन्थ्यो,’ उप्रेती भन्छन्, ‘जसले अहिले हामीलाई पहिचान विरोधी भनेर आरोप लगाइरहुन भएको छ उहाँहरुले त्यो बेला कांग्रेस एमालेलाई भोट दिनु भयो, हामी किराँत पक्षधरलाई बहुमत दिनु पर्थ्यो दिनु भएन ।’

पहिचानका पक्षधरहरू कुलप्रसाद साँवा र जयराम यादवलाई हराएर अर्कोलाई जिताउने अनि अहिले आएर किराँत प्रदेश माग गरेर पाउने अवस्था नरहेको उनको भनाइ छ ।

‘तपाइँले तपाइँका प्रतिनिधिहरूलाई सुरु मै जिताएर पठाउनु पर्थ्यो जिताउन सक्नु भएन, त्यो बेला तपाईँहरू कहाँ हुनुहुन्थ्यो ?,’ उनले भने, ‘जो तपाईँहरू सडकमा ढुङ्गा उचालेर हामीलाई गाली गरिरहनु भएको छ, तपाईँहरूले त्यो बेला पहिचानको पक्षमा चुनाव लड्नेहरूको पक्षमा तपाई केही बाहेक हुनुहुन्थ्यो, हुनुहुन्न थियो,’ उनले प्रश्न गर्दै भने, ‘अस्ति सडकमा आउनु भएकाहरूलाई हामीले हेर्यौँ, २–४ प्रतिशत बाहेक ९५ प्रतिशत सबै एमाले कांग्रेसलाई भोट हाल्ने हुनुहुन्थ्यो, कोशी प्रदेश भनेर हिजो प्रस्ताव गर्ने को हो ? समर्थन गर्ने को हो, ती सांसद को हुन्, कुन पार्टीका हुन्, ती सांसदहरूलाई हिजो तपाईँहरूले भोट हालेर पठाएको हो कि हैन ? अनि अहिले आएर इन्द्रबहादुर आङ्बोसँग मात्र पहिचान खोज्न मिल्छ, मिल्दैन ।’

पहिचानको नाममा हिजो पनि पसल चलाएको र अहिले पनि पसल चलाई रहन खोजेको उप्रेतीले बताए । अब सडक आन्दोलनबाट समस्याको समाधान नआउने भएकोले आगामी चुनावमा माओवादीलाई दुईतिहाइ दिएर पठाउने हो भने नाम परिवर्तन गर्न तयार रहेको उनले दाबी गरे ।

उनले अहिलेको आन्दोलनलाई लोकतन्त्रमा आफ्नो माग राख्न पाउने अधिकारको रूपमा लिएका छन् ।

‘उहाँहरूले आफ्नो आफ्ना कुरा राख्दै आउनु भएको छ,’ उप्रेतीले भने, ‘हामीले हिजो बन्दुक बोकेका थियौँ, उहाँहरूले आज सडक आन्दोलन गर्नु भएको छ शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाइन्छ ।’

उनले अहिलेको आन्दोलनको सेफ ल्यान्डिङ हुन नसक्ने बताए । उनले आगामी चुनावले यसको हिसाब किताब गर्नु पर्ने बताए ।

‘भोलिका दिनमा उहाँहरू पहिचानवादी हो भने हामीलाई भोट हाल्नुहुन्छ दुई तिहाइ दिनुहुन्छ यदि उहाँहरू पसल चलाइरहनु भएको हो भनेँ अरूलाई भोट हाल्नुहुन्छ,’ उप्रेतीले भने, ‘यो उहाँहरूको पसल हैन भनेँ भन्नुस् त चुनाव भएको कति नै महिना भयो र ? उहाँहरूले किन पहिचान पक्षधरलाई भोट हालेर जिताउनु भएन । हिजो भोट हाल्ने बेलामा उहाँहरू कहाँ जानु भयो र अहिले आएर आन्दोलन गर्ने । त्यो बेला पहिचानको माया दया लग्थ्यो भनेँ पहिचान पक्षधरलाई पनि ल्याउनु भएन यो रोक्नसक्ने मत पनि दिनु भएन र अहिलेको नाम कोशी आएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *