लिङ्देनको प्रश्न : यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । आफ्ना पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही मिटर ब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदा सत्ता पक्षका कार्यकर्ताले दुव्र्यबहार गरेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
‘के यो देशमा कुनै नागरिकलाई राजावादी हुने छुट छैन ?,’ उनले भने, ‘सरकार मुठभेडतर्फ जान लागेको हो ?’
उनले मिटर ब्याजी पीडितलाई अलमल्याउने काम नगर्न र चाँडो न्याय दिलाउन आग्रह गरे ।
कोशी प्रदेशमा प्रदेशको नामाकरणको विरोधमा उठेका आवाजलाई सरकारले अनदेखा गरिहरेको भन्दै उनले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । सरकार पहिचानवादीहरुसँग मुठभेडमा उत्रिनु नहुने उनले बताए ।
आफ्नो पार्टीले कहिल्यै पनि नेपालले संघीयता धान्न नसक्ने भन्दै नेपालमा संघीयता हुनु हुँदैन भन्दै उनले यस्तो आवाजलाई सम्बोधन गर्न ढिलो गर्नु नहुने बताए ।
जातैपिच्छे प्रदेश बनाइदिने नारा दिएर राजनीतिमा आएको (माओवादी) पार्टीले नै अहिले सरकारको नेतृत्व गरिरहेको भन्दै उनले यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए ।