राज्यले नै मिटर, सेन्टिमिटर र मिलिमिटर ब्याज ताेकेकाे छ : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राज्य संयन्त्रले नै नेपालमा ३ किसिमको ब्याज कार्यान्वयन गरिरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
संसदको शून्य समयमा बोल्दै उनले भने– ‘बास्तवमा मिटर ब्याजी पीडितहरु राज्यका ऐना हुन् । हामीले कसरी राज्य सञ्चालन गरिरहेका छौँ । त्यसले देखाउँछ । किनकि राज्यले नै ३ थरीको ब्याज निर्धारण गरेको छ । माइक्रो फाइनान्स(लघुवित्त)बाट सेन्टिमिटर ब्याज र बैंकबाट मिलिमिटर ब्याज लिने गरिएको छ । मिलिमिटर ब्याज जनतालाई दिने होइन । जुन उद्योगपतिबाट चन्दा लिएर चुनाव लडेका सरकारका नेतृत्व गर्नेहरु र राजनीतिक दलहरुका निकट उद्योगले मिलिमिटर ब्याजमै ऋण पाएका छन् । बैंकले प्रवाह गरेको ४७ खर्ब ऋण मध्ये ३० खर्ब ऋण बैंकले १०० जना उद्योगीलाई मिलिमिटर ब्याजमै प्रवाह गरेको छ । सरकारले त्यो परिमाणको ऋण उक्त सस्तो ब्याजदरमा जनतालाई दिँदैन । सरकारले नै जनतालाई झन् गरिब बनाएर केही उद्योगी व्यापारीलाई धनी बनाउने काम गरेको छ ।’