ऋषि धमला र मेरो अनुभव कहिँ न कहीँ मिलेको देख्छु : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता क्षेत्रमा ऋषि धमलामाथि विभिन्न प्रहार भइरहेको जस्तो राजनीतिमा आफूमाथि पनि घेराबन्दी र प्रहार भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव (२५ औँ वार्षिकोत्सव) समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जीवनका कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि तीतामिठा सबै क्षेत्रबाट गुज्रिनै पर्छ,’ उनले भने, ‘कुनै पनि धातुले सही रुप लिन विभिन्न अग्नी परीक्षाहरु दिनै पर्छ । मैले पनि थुप्रै गाली, ताली र प्रशंसाबाट गुज्रिँदै आइरहेको छु ।’
उनले अहिले देश आर्थिक संकटबाट गुज्रिरहेको भए पनि त्यसमा सुधार हुँदै आएको बताएका छन् ।
‘अर्थतन्त्रमा सुधार गर्न सकिन्छ भन्ने अनुभव बढेको छ,’ उनले भने, ‘गएको ३ महिनामा रेमिट्यान्समा धेरै सुधार भएको छ । राजस्व संकलनमा सुधार भएको छ । प्रधानमन्त्रीको हैसियतमा सरकार, राष्ट्र बैंक सबैले बैठक गरेर हामीले समस्या समाधानमा काम गरेका छौँ ।’