गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिवद्ध छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् ।
जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उनको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्न संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भीर रहेको बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
उनले भने, ‘यो व्यवस्थालाई कमजोर पार्ने वा यसका उपलब्धिमाथि धावा बोल्ने काम गर्न नदिन सरकार दृढ र प्रतिवद्ध छ । हामीले शान्ति प्रक्रियाको बाँकि काम पनि पूरा गर्नुछ ।’
संविधानसभाबाट संविधान बनाएर संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने काम पूरा गरेको उनले बताए । त्यस्तै, जनमुक्ति सेना वा माओवादी लडाकुहरुको समायोजन र व्यवस्थापनको काम पूरा गरेको बताए ।
अब संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर यो संक्रमणकालीन न्यायको कामलाई पनि पूरा गर्ने काममा सरकार अघि बढेको बताए ।
त्यस्तै, जनताको जीवनमा परिवर्तन ल्याउन विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि उनले बताए ।